फास्ट ट्र्याकमा नयाँ योजना, फर्सीडोलबाट निर्माण

काठमाडौं — तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को खोकना खण्डको विवाद अझै समाधान नभएपछि सरकारले फर्सीडोल–डुकुछाप खण्डबाट निर्माण अघि बढाउने तयारी गरेको छ।

यसका लागि ३.२ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरी दुईवटा पक्की पुल निर्माण गर्ने योजना बनाइएको छ। संशोधित डीपीआर स्वीकृतिका लागि रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइने तयारी भइरहेको छ।

खोकना क्षेत्रमा लामो समयदेखि स्थानीयको विरोधका कारण ६.५ किलोमिटर सडक निर्माण अघि बढ्न सकेको छैन। त्यसैले अहिले विवादित भागलाई केही समयका लागि अलग राखेर फर्सीडोलबाट काम सुरु गर्ने रणनीति अपनाइएको हो। फर्सीडोलमा टोल प्लाजा पनि निर्माण गरिनेछ।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले सडकको सुरुवाती बिन्दु परिवर्तन नगरिएको स्पष्ट पार्दै पुल निर्माणसम्बन्धी संशोधित डीपीआर फेरि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए।

नेपाली सेनाका अनुसार डुकुछाप क्षेत्रमा पहिरोको उच्च जोखिम देखिएकाले सडकको सट्टा बागमती नदीमाथि करिब ५०० मिटर लामो पुल निर्माण गर्ने प्रस्ताव गरिएको हो। यसले कम जग्गा आवश्यक पर्ने र पहिरो नियन्त्रणको थप काम पनि गर्न नपर्ने जनाइएको छ। डीपीआर स्वीकृत भएपछि ठेक्का प्रक्रिया सुरु हुनेछ।

२०७४ सालदेखि नेपाली सेनाले आयोजनाको निर्माण व्यवस्थापन गर्दै आएको भए पनि खोकना विवादका कारण काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। सुरुमा २०८१ मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अहिले २०८३ चैतसम्मका लागि म्याद थपिएको छ।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाका अनुसार खोकना क्षेत्रको समस्या समाधान नभएसम्म आयोजना दुई भागमा विभाजन गरेर काम अघि बढाइनेछ। एउटा प्याकेज डुकुछाप–फर्सीडोल र अर्को फर्सीडोल–खोकना रहनेछ। पूर्वाधार विकास मन्त्रालयले पनि यस प्रस्तावमा सकारात्मक राय दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *