नाडा अटो शोमा यात्री पी२ को डेब्यु

काठमाडौं । नेपालमै विकास गरिएको यात्री पी२ इलेक्ट्रिक स्कुटर आगामी भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ मा पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शन गरिने भएको छ।

सिप्रदी ट्रेडिङ प्रालि र यात्री डिजाइन स्टुडियोको सहकार्यमा निर्माण भइरहेको यो स्कुटर हाल अन्तिम परीक्षण चरणमा छ। देशका विभिन्न भौगोलिक क्षेत्र र सडकमा यसको परीक्षण जारी रहेको कम्पनी स्रोतले जनाएको छ। वालिङ, राम्दीघाट, भरतपुर, काठमाडौं, नुवाकोट, कुरी, हेटौँडा, जिरी, फापरबारी, मुलकोट तथा कटारीलगायत स्थानमा स्कुटरको रोड टेस्ट सम्पन्न भइसकेको छ।

सामाजिक सञ्जालमा परीक्षणका तस्बिर र भिडियो सार्वजनिक भएसँगै पी२ प्रति उत्सुकता बढ्दै गएको छ। यसैबीच, सिप्रदी–यात्रीले नाडा अटो शोमा सहभागिताका लागि आफ्नो स्टल पनि सुनिश्चित गरिसकेको छ।

कम्पनीले स्कुटरको प्राविधिक विवरण, मूल्य र बिक्री सुरु हुने मितिबारे औपचारिक जानकारी भने अझै खुलाएको छैन। यी विषय अटो शोकै अवसरमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

यसअघि यात्रीले नेपालमै डिजाइन र उत्पादन गरिएका पी० र पी१ इलेक्ट्रिक मोटरसाइकल बजारमा ल्याइसकेको छ। सुरुआती चरणमा कानुनी प्रक्रियासम्बन्धी जटिलताका कारण नम्बर प्लेट प्राप्त गर्न नसक्दा उत्पादन प्रभावित भए पनि आवश्यक कानुनी व्यवस्था भएपछि ती मोडलले दर्ता अनुमति पाएका थिए।

स्वदेशी प्रविधिमा आधारित नयाँ इलेक्ट्रिक स्कुटरको पहिलो सार्वजनिक प्रदर्शन हुने भएकाले यस वर्षको नाडा अटो शोमा यात्री पी२ विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *