कर्णालीमा खसेको गाडी अझै फेला परेन

काठमाडौं। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडास्थित कर्णाली राजमार्गमा भएको भीषण सवारी दुर्घटनाको तीन दिन बितिसक्दा पनि दुर्घटनाग्रस्त फोर्स गाडी र अधिकांश यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

बिहीबार बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी करिब ५०० मिटर तल कर्णाली नदीमा खसेको थियो। त्यसयता सुरक्षा निकायले निरन्तर खोजी जारी राखे पनि हालसम्म सीमित सफलता मात्र प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गाडीमा सवार पाँच जनाको मात्रै पहिचान खुलेको छ। उनीहरू चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवा हुन्। हालसम्म जोखे तिरुवाको शव मात्रै फेला परेको छ। पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीले गाडीमा अन्य यात्रु पनि सवार थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ। कर्णाली नदीको तीव्र बहाव, धमिलो पानी र कठिन भौगोलिक अवस्थाले खोजी अभियानलाई थप जटिल बनाएको छ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोली उद्धार तथा खोजीमा खटिएको छ। चितवनको कुरिनटारबाट गोताखोरसहितको विशेष टोली पनि परिचालन गरिएको छ। टोलीले ड्रोन, डुंगा, सोनार क्यामेरा, चुम्बक र बोरस्कोप क्यामेराजस्ता आधुनिक उपकरण प्रयोग गर्दै नदीभित्र खोजी गरिरहेको छ।

शनिबार साँझ अँध्यारोका कारण खोजी रोकिए पनि आइतबार बिहानदेखि पुनः अभियान सञ्चालन गरिएको छ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आवश्यक परे हेलिकप्टरसमेत प्रयोग गरी खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

दुर्घटनाको तीन दिनसम्म पनि आफ्ना आफन्तको अवस्था थाहा नपाएपछि पीडित परिवारहरू कर्णाली नदी किनारमै आशा र चिन्ताका बीच खोजीको नतिजा पर्खिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *