काठमाडौँ।ढोरपाटन नगरपालिकाको भुजीखोलामा २०७७ साल भदौ १७ गते आएको विनाशकारी बाढी–पहिरोको ६ वर्ष बितिसक्दा पनि प्रभावित परिवारको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माण पूरा हुन सकेको छैन। यस वर्ष पनि मनसुन सुरु भएसँगै स्थानीयवासी फेरि उही जोखिमबीच बस्न बाध्य छन्।
त्यसबेला आएको पहिरोले १२६ घर बगाएको थियो भने २२ जनाको ज्यान गएको थियो। घटनामा बेपत्ता भएका १७ जना अझै फेला परेका छैनन्।
सरकारले निजी आवास निर्माणका लागि अनुदान उपलब्ध गराए पनि धेरै पीडितले मापदण्डअनुसार घर बनाउन नसक्दा थप किस्ता पाएका छैनन्। कतिपय पीडित भने राज्यबाट उपलब्ध सुविधाबारे जानकारीकै अभावमा रहेका छन्।
पहिरोले बगाएको ढोरपाटन–सालझण्डी सडकअन्तर्गत करिब १० किलोमिटर सडक अझै पूर्ण रूपमा सुरक्षित बन्न सकेको छैन। हालै सडक सम्याउने काम भए पनि खोलाको सतह बढे सडक फेरि जोखिममा पर्ने स्थानीयको चिन्ता छ।
भूसंरक्षण विज्ञहरूले भुजीखोलाको दायाँ–बायाँ कम्तीमा १०० मिटर क्षेत्रमा बस्ती विस्तार नगर्न सुझाव दिएका छन्। जलवायु परिवर्तनका कारण आगामी वर्षहरूमा पनि बाढी–पहिरोको जोखिम उच्च रहने उनीहरूको भनाइ छ।
बडिगाड गाउँपालिकामा गत वर्ष बाढी–पहिरोबाट प्रभावित परिवारको पुनर्निर्माणसमेत अझै सम्पन्न भएको छैन। सुरक्षित आवासको व्यवस्था नहुँदा धेरै परिवार अस्थायी बसोबासमै छन्।
विपद्पछि एकीकृत बस्ती विकासको योजना कानुनी जटिलताका कारण अघि बढ्न नसकेको स्थानीय तहले जनाएको छ। वनसम्बन्धी कानुनका कारण सुरक्षित स्थानमा बस्ती सार्ने प्रयास प्रभावित भएको उनीहरूको भनाइ छ।
जिल्लाका सरोकारवालाले अव्यवस्थित बसोबास, जथाभावी सडक निर्माण र पूर्वतयारीको अभावले विपद्को क्षति बढिरहेको बताएका छन्। उनीहरूले सुरक्षित बस्ती विकास, योजनाबद्ध पूर्वाधार निर्माण र विपद् आउनुअघि नै प्रभावकारी तयारीमा जोड दिएका छन्।