काठमाडौं ।सरकार गठन भएको पहिलो १०० दिनमा सात जिल्लाका १,०८९ सेवाग्राहीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) घरमै प्राप्त गरेका छन्।
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको ‘शासकीय सुधारका सय कार्यसूची’को प्रगति विवरणअनुसार कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा घरमै लाइसेन्स पुर्याउने सेवा सञ्चालन गरिएको हो।
मन्त्रालयका अनुसार यस अवधिमा यातायात व्यवस्था विभागबाट छापिएका ८ लाख ८ हजार ३१ वटा लाइसेन्स सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म पठाइएको छ।
त्यस्तै, १६ असारसम्म कुल २३ लाख ७५ हजार १८१ वटा सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न भएको सरकारले जनाएको छ।
नयाँ लाइसेन्सका लागि परेका २१ लाख ७ हजार ९६८ आवेदनमध्ये विभागमा आवश्यक विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छपाइ गर्ने व्यवस्था लागू गरिएको पनि मन्त्रालयले जनाएको छ।