यामाहा नेपालले यस वर्ष आफ्नो ७१ औँ वार्षिकोत्सव देशभरका सातै प्रदेशमा विविध सामाजिक तथा ग्राहक केन्द्रित कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाएको छ । यामाहा मोटर कम्पनीले आफ्नो इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोट्र्समा योगदान र गतिशीलताको यात्रालाई स्मरण गर्दै जुलाई १ मा विश्वभर ‘यामाहा डे’ मनाएको हो।
सो अवसरमा नेपालभरका शोरुम, डिलरशिप र आउटलेटहरूमा एकैसाथ केक काटेर उत्सवको सुरुवात गरिएको थियो । स्थापना दिवसको अवसरमा कम्पनीले २० वर्षदेखि निरन्तर सेवा पु¥याएका आफ्ना कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ । नेपालभरका १०० भन्दा बढी डिलरहरू डिजिटल माध्यमबाट जोडिएको यस समारोहमा यामाहा मोटर इण्डियाको समेत उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवलाई थप उत्सवमय बनाउन यामाहाले ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था गरेको थियो । देशभरका सेवा केन्द्रहरूमा ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो । यसैगरी, ‘७ प्रदेश, ७ ग्राहक’ अभियान अन्तर्गत प्रत्येक प्रदेशबाट एक–एक जना भाग्यशाली ग्राहक छनोट गरी सर्भिस चार्जमा १०० प्रतिशत क्यासब्याक दिइएको थियो ।
साथै, जुलाई १ का दिन नयाँ सवारीसाधन डेलिभरी लिने ग्राहकहरूलाई धन्यवादस्वरूप विशेष वार्षिकोत्सव चकलेट वितरण गरिएको थियो ।
समुदायसँगै अघि बढ्ने ब्रान्डको मूल भावना अनुरूप यामाहाले देशका विभिन्न ७ प्रमुख शहरहरू (धनगढी, पोखरा, नक्साल, गट्ठाघर, भरतपुर, बर्दिबास र इटहरी) मा रक्तदान कार्यक्रम आयोजना गरी करिब ३५० युनिट रगत संकलन गरेको छ । यस अभियानमा एमएडब्लू फाउन्डेसन र लायन्स क्लब अफ काठमाडौँ–समर्पणले सहयोग गरेका थिए ।
यसैगरी, कम्पनीले विराटनगरस्थित आफ्नो प्लान्टमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । विशेष गरी यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयका ७ जना विपन्न बालबालिकाको कक्षा १२ सम्मको सम्पूर्ण अध्ययन खर्च र शैक्षिक सामग्री व्यहोर्ने जिम्मेवारी लिँदै प्रशंसनीय कार्य गरेको छ ।
कम्पनीले १६ देखि ४० वर्षसम्म निरन्तर यामाहा चढ्दै आएका ६ जना पुराना ग्राहक र १ लाखदेखि २ लाख किलोमिटरसम्मको यात्रा तय गरेका ५ जना राइडरहरूलाई सम्मानपत्र प्रदान गरेको छ । साथै, पूर्वी चितवनमा सेकेन्ड ह्यान्ड सवारी व्यवसाय सुरु गर्ने १ जना उद्यमी र विगत ३२ वर्षदेखि यस क्षेत्रमा सक्रिय ३ जना मेकानिकहरूलाई उनीहरूको अथक योगदानको कदर गर्दै सम्मानित गरिएको थियो ।