कालोसिसा प्रयोग गरी चलाउँदै आएका सवारी साधन माथि पछिल्लो समय ट्राफिक प्रहरीले एक्सन लिन थालेको छ । निजी तथा सार्वजनिक गाडीमा कालोसिसाको प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरीले त्यसविरुद्ध विशेष अभियान संचालन गरि कारबाही शुरु गरेको हो ।
आइतबार मात्रै कालोसिसा प्रयोग गरेर संचालन गरिएका ५७ वटा गाडीलाई कारबाहीसहित जरिवाना गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।उपत्यकाका विभिन्न ठाउँमा विशेष ट्राफिक जाँचका क्रममा कालोसिसा प्रयोग गरेका गाडी चालकलाई जरिवानासहित कारबाही गरिएको छ।
गाडीमा कालोसिसा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेकाले नियम उल्लंघन गर्ने गाडीको निगरानी बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
कालोसिसाको प्रयोगले गाडीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले साना हतियार, लागुऔषध ओसारपसार, फरार अपराधी तथा विभिन्न आपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाइएको प्रहरीले बताएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारी साधनको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुनेगरी कुनै पनि प्रकारको हेरफेर गर्न नपाइने कानुनी व्यवस्था छ ।