युरोपमा पहिलो पटक ईभीको बिक्री बढ्दै

युरोपेली बजारमा पहिलो पटक पूर्ण विद्युतीय सवारी साधनहरू अर्थात ईभीको बिक्रीले पेट्रोलियम पदार्थ मात्र प्रयोग हुने सवारी साधनको बिक्री अत्याधिक सफल भएको छ। यस उपलब्धिले अटोमोटिभ उद्योगको लागि ऐतिहासिक क्षण नै बनाएको बताइएको छ।

मे महिनामा युरोप अर्थात युरोपेली संघ, युनाइटेड किङडम र ईएफटीए देशहरूमा नयाँ कार बजारको २३.३ प्रतिशत इलेक्ट्रिक सवारी साधनहरूको बिक्रीले ओगटेको बताइएको छ भने पेट्रोल कारहरूको बिक्री २१.७ प्रतिशतमा झरेको थियो । हाइब्रिडहरूले बजारको सबैभन्दा ठूलो हिस्साको साथ प्रभुत्व जमाइरहेको टेलिग्राफले रिपोर्ट प्रकाशित गरेको छ।

वर्षको पहिलो पाँच महिनामा ईयूमा ९ लाख ५० हजार भन्दा बढी विद्युतीय कारहरू दर्ता भएको र त्यसले बजारको २० प्रतिशत प्रतिनिधित्व गरेको बताइएको छ।

पेट्रोल र डिजेल कारहरूको माग घट्दै गइरहेको उल्लेख गरिएको छ। पेट्रोल मोडलहरूको दर्ता १८.२ प्रतिशतले घटेको छ भने डिजेल कारहरू १६.६ प्रतिशतले घटेका छन्।

इलेक्ट्रिक भेइकल्स अर्थात ईभीको बिक्रीमा सबैभन्दा बलियो वृद्धि इटालीमा ७५.७ प्रतिशत बढेको छ भने त्यसपछि फ्रान्समा ५५.४ प्रतिशत र जर्मनीमा ४०.९ प्रतिशत वृद्धि भएको छ। यसमा टेस्लाको समेत महत्वपूर्ण भूमिका रहेको र मे महिनामा युरोपमा बिक्री लगभग दोब्बर भएको उल्लेख गरिएको छ।

टेस्ला मोडल वाई १७ हजार १८३ युनिटका साथ ईयूमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कारको रूपमा पुनरागमन गरेको छ भने टेस्ला मोडल ३ चाहिं ९ हजार ५६६ युनिटका साथ दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी, चिनियाँ ब्रान्डहरूले पनि राम्रो स्थान हासिल गर्ने क्रमलाई जारी राखेको बताइएको छ। मे महिनामा १ लाख २१ हजार सवारी साधनहरू बिक्री गर्दै पहिलो पटक १०.७ प्रतिशतको बजार हिस्सा हासिल गरेको र गत वर्षको सोही अवधिको तुलनामा लगभग दोब्बर भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *