ट्रायम्फ नेपालको ‘एपेक्स राइड’ सम्पन्न

ट्रायम्फ नेपालले ‘विश्व मोटरसाइकल दिवस’ को विशेष अवसर पारेर आयोजना गरेको एकदिने विशेष राइड ‘एपेक्स राइडः ट्रेल्स अफ शिवपुरी’ सफलतापूर्वक सम्पन्न गरेको छ ।

व्यस्त सहरी जीवनबाट केही समय टाढा रहँदै राइडिङको वास्तविक मज्जा र उत्साहलाई उत्सवका रूपमा मनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

शिवपुरी राष्ट्रिय निकुञ्जका रमणीय, प्राकृतिक र चुनौतीपूर्ण ट्रेलहरू समेटिएको यस राइडमा ट्रायम्फ मोटरसाइकलका सौखिन राइडरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यो रोमाञ्चक यात्रा बुढानीलकण्ठबाट सुरु भई डाँडागाउँ, सांग्ला, लखु खोला हुँदै समुद्रदेवीसम्म पुगेको थियो । यात्राका क्रममा सहभागीहरूले शीतल जंगलका ट्रेलहरू, नदी किनारका कच्ची सडकहरू र मनोरम प्राकृतिक दृश्यहरूको प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए ।

यस राइडले राइडरहरू माझ आत्मीयता बढाउनुका साथै नेपालमा द्रुत रूपमा बिस्तार भइरहेको ट्रायम्फ समुदायलाई एकजुट बनाउने साझा मञ्च प्रदान गरेको थियो ।

दिनभरको साहसिक राइडपछि सबै सहभागीहरू नक्सालस्थित ‘बाइकर्स क्याफे’ मा आयोजित विशेष साँझको कार्यक्रममा एकत्रित भएका थिए ।

उक्त साँझको मुख्य आकर्षण हालै (वैशाख १२ देखि १८ गतेसम्म) सम्पन्न भएको ‘ट्रायम्फ नेपाल इपिक राइड – मनाङ एडिसन’ को भिडियो प्रिमियर रहेको थियो ।

भिडियो हेर्दै राइडरहरूले आफ्नो हिमाली क्षेत्रको साहसिक यात्राका पुराना पलहरूलाई पुनः ताजा गराएका थिए । स्वादिष्ट भोजन र गफगाफसँगै राइडरहरूले आफ्ना यात्राका अविस्मरणीय कथाहरू एकअर्कासँग साटासाट गरेका थिए ।

कार्यक्रमको सफलता र उद्देश्यबारे प्रष्ट पार्दै ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, ‘हामीले यो राइडलाई केवल मोटरसाइकल चलाउने माध्यम मात्र नभई एउटा बलियो समुदायको उत्सव बनोस् भन्ने चाहेका थियौँ ।

‘एपेक्स राइडः ट्रेल्स अफ शिवपुरी’ ले राइडरहरूलाई एकै ठाउँमा ल्याउने, स्फूर्तिदायी ट्रेलहरूको अनुभव गर्ने र यात्राको वास्तविक रोमाञ्च महसुस गर्ने अवसर दिएको छ ।

हाम्रा लागि सबैभन्दा खुसीको कुरा राइडरहरू आफ्नो बाइकसँग मात्र नभई, यात्राका दृश्य र एक–अर्कासँग भावनात्मक रूपमा जोडिएको देख्नु हो ।’

ट्रायम्फ नेपालले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूका लागि यस्तै साहसिक र अर्थपूर्ण राइडहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *