सरकारले बजेटमार्फत पहिलोपटक ल्याएको ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ (CIIF) अन्तर्गत विद्युतीय पिकअप तथा कमर्सियल सवारीसाधनमा नयाँ कर लागू गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते सार्वजनिक गर्नुभएको आर्थिक विधेयक अनुसार अब विद्युतीय डबल क्याब पिकअपमा १० प्रतिशत र सिंगल क्याब पिकअपमा ५ प्रतिशत स्वच्छ पूर्वाधार शुल्क लाग्नेछ।
यो नयाँ कर थपिएसँगै विद्युतीय डबल क्याब पिकअपको कुल क्युमुलेटिभ कर भ्याटबाहेक ५१ प्रतिशत र सिंगल क्याब पिकअपको कुल कर ३१ प्रतिशत पुगेको छ।
त्यसैगरी विद्युतीय रिफर भ्यानमा ३ प्रतिशत तथा लरी, ट्रक, टिपर, डम्पर, दूध ट्यांकर र डेलिभरी भ्यान जस्ता व्यावसायिक गाडीहरूमा ५ प्रतिशत शुल्क लाग्ने भएपछि यस्ता गाडीको कर ७ देखि ९ प्रतिशतले बढेको छ।
यता पेट्रोलियम पदार्थबाट चल्ने (ICE) डबल क्याब पिकअपमा समेत भन्सार र अन्तःशुल्क हेरफेर गरी कुल कर १ सय ४५ प्रतिशतबाट बढाएर १ सय ५० प्रतिशत पुर्याइएको छ, जसले गर्दा समग्रमा ४ प्रतिशत कर वृद्धि भएको छ।