लामो समयदेखि अलपत्र परेको तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीको पक्की पुल निर्माणले बल्ल गति लिएको छ।
वि.सं. २०७७ चैतमा शिलान्यास भई तीन वर्षभित्र सक्ने लक्ष्य राखिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण हालसम्म चार पटक म्याद थप भइसकेको छ।
पूर्वाधार विकास कार्यालयका अनुसार आगामी २०८३ असोज ३० गतेसम्म अन्तिम म्याद थपिएको छ भने बजेट अभाव नभएमा तोकिएको समयभित्रै काम सम्पन्न हुने गरी निर्माण तीव्र पारिएको छ।
गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार रुपैयाँ लागतमा रसुवा इलाइट जेभीले निर्माण गरिरहेको यो पुल १५४ मिटर लामो र ९.५० मिटर चौडा स्टिल ट्रस प्रकृतिको हुनेछ।
हाल सोही स्थानमा रहेको जोखिमपूर्ण झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको त्रास बढेको अवस्थामा यो नयाँ पक्की पुल बनेपछि दमौली आउने दूरी पाँच सय मिटरभन्दा कम हुनेछ।