सडक मर्मतलाई साढे १५ अर्ब

सडक विभागले आगामी आर्थिक वर्षका लागि देशभरका १८ हजार किलोमिटर रणनीतिक सडक सञ्जाल मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ।

विभागले आयोजना गरेको ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा राष्ट्रिय राजमार्ग र सहायक सडकहरूको मर्मतका लागि उक्त विवरण सार्वजनिक गरिएको हो।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक इन्जिनियर श्यामबहादुर खड्काका अनुसार यो बजेट सडकलाई सुरक्षित राख्न नियमित, पुनरावर्ती, आवधिक मर्मतका साथै सडक सुरक्षा र बायो-इन्जिनियरिङ कार्यमा खर्च गरिनेछ।

सडकको भौतिक अवस्था, ट्राफिक चाप र सतहको गुणस्तरका आधारमा चारवटा संघीय सडक सुपरिवेक्षण कार्यालयमार्फत तथ्यांक संकलन गरी वेब-बेस्ड सफ्टवेयर प्रणालीबाट वैज्ञानिक रूपमा यो योजना तयार गरिएको हो।

मर्मत कार्यलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई सहज र सुरक्षित यातायात सुविधा उपलब्ध गराउन यो डाटाबेसमा आधारित एकीकृत योजना महत्त्वपूर्ण आधार बन्ने विभागको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *