नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले उद्योगमन्त्री गौरीकुमारी यादवसँग भेट गरी अटोमोवाइल वस्तुमा एमआरपी (MRP) स्टिकर टाँस्ने व्यवस्थाबारे छलफल गरेको छ।
अध्यक्ष उप्रेतीले अधिकतम मूल्य सूचीको व्यवस्थाले व्यवसायलाई पारदर्शी र व्यवस्थित बनाउने भए पनि स्पेयर पार्ट्स र भन्सार यार्डमा स्टिकर टाँस्न व्यावहारिक कठिनाइ रहेको बताउनुभयो।
नाडाले सरकारको दीर्घकालीन नीतिलाई समर्थन गर्दै आयातित र स्वदेशी उत्पादन (टायर, ब्याट्री आदि) लाई व्यवस्थित बनाउन मन्त्रालयसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ।
जवाफमा मन्त्री यादवले नाडाका सुझावहरू मननयोग्य रहेको बताउँदै व्यावहारिक समस्यालाई मध्यनजर गर्दै तत्कालका लागि यस व्यवस्थालाई केही समय पछि सारेर समाधान गर्ने आश्वासन दिनुभयो।
व्यापारीहरूले एउटै बक्समा आउने सयौँ स्पेयर पार्ट्समा स्टिकर टाँस्न र भन्सारमा पर्याप्त पूर्वाधार नहुँदा कार्यान्वयनमा समस्या पर्ने भन्दै सहजीकरणका लागि माग गरेका छन्।
यसअघि वाणिज्य विभागले २०८२ चैत ३० मा सबै आयातित वस्तुमा अनिवार्य एमआरपी र उत्पादनको विवरणसहितको लेबल लगाउनुपर्ने निर्देशन जारी गरेको थियो।