मोटर स्पोर्ट्स नेपाल क्लबको आयोजनामा सञ्चानल भएको नेपाल रोड रेसिङ च्याम्पियनशिप-२०२६ को पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रतियोगिता वैशाख ४ र ५ गते काभ्रेको बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कूलमा सञ्चालन गरिएको थियो ।
दुई दिनसम्म चलेको यस प्रतियोगितामा राष्ट्रिय र नौसिखिया गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो । नौसिखिया समूहमा सुहान बिष्टले शानदार प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे ।
रेसभरि निरन्तर गति र सन्तुलित नियन्त्रण कायम राख्दै उनी अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भए ।
यस समूहमा क्रिशल थापाले रनर अपको स्थान सुरक्षित गरे भने सुरज घिमिरेले तेस्रो स्थान हासिल गरे । नौसिखिया वर्गमा देखिएको प्रतिस्पर्धाले नयाँ प्रतिभाहरूको सम्भावना बलियो रहेको संकेत दिएको छ ।
अनुभवी राइडरहरूको प्रतिस्पर्धा रहेको राष्ट्रिय समूहमा श्रीहरी पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे ।
त्यस्तै, सुजन थापा मगर रनर अपको स्थान हासिल गरे भने दीपिल दनुवार तेस्रो स्थान सुरक्षित गरे । नेपालमा पछिल्ला वर्षहरूमा मोटर स्पोर्ट्सप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ ।
विशेषगरी युवा पुस्ताको सहभागिता र निजी क्षेत्रको सहयोगले यस्ता प्रतियोगिताहरूले नयाँ गति पाउँदै गएका छन ।
आयोजकका अनुसार यो प्रतियोगिताले केवल प्रतिस्पर्धा मात्र नभई नेपाली मोटर स्पोर्ट्सलाई संस्थागत रूपमा विकास गर्ने लक्ष्य बोकेको छ ।
खेल पर्यटन र रेसिङ संस्कृति विकासमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।