नेपाल अटोमोबाइल्स एसोसिएशन (नासा नेपाल) को आयोजनामा युवा नेतृत्व विकास कार्यक्रम २०२६ को पहिलो सत्र ललितपुरमा सम्पन्न भएको छ।
इन्जिनियरिङ, अटोमोबाइल र साहसिक पर्यटन क्षेत्रका ६८ जना युवा सहभागी रहेको यो कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले गर्नुभयो।
कार्यक्रममा सहभागीहरूलाई मोटरस्पोट्र्स व्यवस्थापन, सडक सुरक्षा, मिडिया तथा सञ्चार र खेलकुदमा हुने नयाँ प्रयोगबारे तालिम प्रदान गरिनेछ।
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (FIM) सँगको सहकार्यमा डिसेम्बरसम्म सञ्चालन हुने यस अभियानमा जम्मा १२ वटा भौतिक तथा भर्चुअल सत्रहरू रहनेछन्।
कार्यक्रममा सौरभ ज्योति, डा. ज्ञानेन्द्र शाह र सुरेश आचार्य लगायतका विज्ञहरूले नेतृत्व, टिमवर्क र एन्टि-डोपिङ जस्ता महत्वपूर्ण विषयमा प्रस्तुति दिनुभएको थियो।
नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा भएको यो कार्यक्रमले नेपाली मोटरस्पोट्र्सलाई प्रविधि र पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ।
आगामी महिनाको कार्यक्रम कुमारीपाटीस्थित कान्तिपुर भ्याली कलेजमा आयोजना गरिने जानकारी समेत गराइएको छ।