पौभा कला क्यालेन्डर सार्वजनिक

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले पौभा कलाका दिव्य रङ्ग र दर्शन समेटिएको नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक प्रा. डा. सन्दुक रुइटले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरे।

पौभा कला नेवार समुदायको मौलिक चित्रकला हो, जसको काठमाडौँ उपत्यकासँग गहिरो सम्बन्ध रहिआएको छ।

क्यालेन्डरमा यसैसँग सम्बन्धित दुर्लभ चित्रहरू समावेश गरिएको छ।

थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभा कलाको आफ्नै पहिचान र दार्शनिक गहिराइ रहेको उल्लेख गरिएको छ।

बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण र प्रवर्द्धन गर्दै क्यालेन्डरमा मौलिक चित्रहरू समेट्दै आएको छ।

यसअघि बैंकले २०७९ मा मिथिला कला, २०८० मा मण्डला चित्रकला, २०८१ मा स्वदेश फर्काइएका प्राचीन कलाकृति र २०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने तस्वीरहरू समावेश गरेको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंक देशका सबै जिल्लामा सेवा विस्तार गर्ने पहिलो निजी वाणिज्य बैंक हो, जसले देशभर शाखा, एटिएम र अन्य सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *