बोलेरो दुर्घटनामा तीनको मृत्यु

डोटी र झापामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कुल तीन जनाको मृत्यु भएको छ।

डोटीको आदर्श गाउँपालिका–६, रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा चालक २२ वर्षीय सुवोध रोकाया र १९ वर्षीय कैलाश विक रहेका छन्।

खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको बोलेरो राति करिब १२ बजे घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुवै जनाको शव सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा फेला परेको थियो।

त्यस्तै, झापाको कचनकवल गाउँपालिका–४ मा सिटी गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश रहेका छन्।

बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको बीआर–११सी–३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकआपसमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका गणेशलाई भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीले सिटी चालक १९ वर्षीय सैजन मियाँसहित दुवै सवारी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *