इन्धन र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा ठूलो समस्या परेको भन्दै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेको छ।
महासंघका अनुसार पछिल्लो समय डिजेल, पेट्रोल र मट्टितेलजस्ता इन्धनको मूल्य तीव्र रूपमा बढ्दा निर्माण काम सञ्चालन गर्न निकै कठिन भएको छ।
पश्चिम एसियामा भइरहेको युद्धका कारण इन्धनको अन्तर्राष्ट्रिय मूल्य बढेको र त्यसको असर नेपालमा पनि परेको व्यवसायीहरूको भनाइ छ।
निर्माण कार्यका लागि प्रयोग हुने डिजेल महँगिँदा ढुवानी, मेसिन सञ्चालन र निर्माणको समग्र लागत बढेको व्यवसायीहरूले बताएका छन्।
महासंघका महासचिव रोशन दाहालका अनुसार निर्माणको मुख्य सिजनमै इन्धन महँगो हुँदा परियोजनाहरू पूरा गर्न ठूलो आर्थिक भार परेको छ।
यस्तै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य पनि बढेको छ, बुकिङ गर्दा भन्दा अहिले प्रतिलिटर करिब ४० रुपैयाँसम्म महँगो भएको बताइएको छ।
भारतले बिटुमिन निर्यात रोकेपछि आपूर्ति घटेको र त्यसले पनि निर्माण क्षेत्रलाई थप समस्या बनाएको महासंघले जनाएको छ।
निर्माण सामग्रीमा पनि मूल्य वृद्धि भएको छ, जसमा फलामे डन्डी र सिमेन्टको भाउ उल्लेख्य रूपमा बढेको बताइएको छ।
महासंघले खुला बजारको नाममा केही उद्योगीले कृत्रिम अभाव र कार्टेलिङ गरेर मूल्य बढाएको आरोपसमेत लगाएको छ।
सरकारले सार्वजनिक खरिद ऐनअनुसार परियोजनामा मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग व्यवसायीहरूले गरेका छन्।
मूल्यवृद्धि नियन्त्रण नभएसम्म देशभरका निर्माण परियोजनाहरू अस्थायी रूपमा रोक्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि महासंघले दिएको छ।
Post Views: 77