मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य एकैपटक बढाउने निर्णय गरेको हो।
भारतबाट आएको नयाँ मूल्यसूचीका आधारमा निगमले मूल्य समायोजन गरेको जनाएको छ। त्यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेलको मूल्य १० रुपैयाँले बढाइएको छ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल १५२ रुपैयाँ पुगेको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र एलपी ग्यासमा अझै पनि ठूलो घाटा रहेको छ। पेट्रोलमा करिब ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २१६ रुपैयाँ घाटा रहेको जानकारी दिइएको छ।
मूल्य बढाएपछि पनि आगामी १५ दिनमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। उपभोक्तामा धेरै असर नपरोस् भनेर मूल्य स्थिरिकरण कोष प्रयोग गरेर कम मात्रामा मूल्य बढाइएको निगमले जनाएको छ।
निगमले अन्तर्राष्ट्रिय परिस्थितिका कारण बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको बताउँदै सार्वजनिक सवारी र ढुवानीमा धेरै असर नपरोस् भनेर डिजेलको मूल्य कम दरमा मात्र बढाइएको जनाएको छ।
Post Views: 94