दोवा–आइसफल पदमार्ग निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण सुरु गरिएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा छुट्याएको १० लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिमार्फत काम अघि बढाइएको हो।

उपभोक्ता समितिका अध्यक्ष विकास पुनका अनुसार फागुन पहिलो सातासम्म गुन्थली भिर, देउराली डाँडा, ठूलोखानी, भित्रे वन, ठूलो घैरा भर्‍याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण सम्पन्न भइसकेको छ।

प्राविधिक नक्साअनुसार हालसम्म तीन किलोमिटर पदमार्ग निर्माण पूरा भएको छ भने थप एक किलोमिटर निर्माणाधीन छ।

करिब २० जना स्थानीय बासिन्दा निर्माणस्थलमै त्रिपाल टाँगेर बास बस्दै काम गरिरहेका छन्, किनकि उक्त स्थान बस्तीबाट टाढा छ।

चालु वर्षको बजेटबाट पदमार्गलाई खोलाखर्कसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

विगतमा दोवाबासीले पशुगोठ लेकबेँसी गर्दा प्रयोग गर्ने गोरेटो बाटोलाई पहिचान गरी अहिले पदमार्गको रूपमा विकास गर्न थालिएको वडा अध्यक्ष दिलीप गर्बुजाले जानकारी दिए।

बेनी–जोमसोम सडक बनेपछि करिब १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्ग पहिचानमा आएको थियो।

रघुगंगा गाउँपालिकाको राखुबाट सुरु हुने मुख्य पदमार्ग मुस्ताङको लेतेसम्म पुग्छ, जसमा नजिकका बस्तिहरूबाट जोड्ने सहायक पदमार्गहरू पनि विस्तार गरिँदै छन्।

मगर समुदायको बाहुल्य बसोबास रहेको दोवामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइसफलसम्म पदमार्ग विस्तार गरिएको वडा अध्यक्षले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *