फोर्ड फेरि भारत फर्किँदै

अमेरिकी कार कम्पनी फोर्ड मोटर्सले भारतबाट उत्पादन बन्द गर्ने घोषणा गरेको करिब ५ वर्षपछि फेरि भारतीय प्लान्टबाट उत्पादन सुरु गर्ने भएको छ।

कम्पनीले जुन २०२६देखि तामिलनाडूस्थित प्लान्टबाट नयाँ पुस्ताको इन्जिन उत्पादन सुरु गर्ने योजना बनाएको छ।

फोर्डले २०२१ सेप्टेम्बरमा लगातार घाटा भएको भन्दै भारतमा उत्पादन र बिक्री बन्द गरेर बाहिरिने घोषणा गरेको थियो।

त्यस बेला भारतमा बनेका इकोस्पोर्ट, फिगो, इन्डेभर जस्ता मोडलहरू भारतसँगै नेपाली बजारमा पनि राम्रै बिक्री भएका थिए।

यद्यपि, फोर्डले भारतका दुवै प्लान्ट पूर्ण रूपमा बिक्री गरेको थिएन।

गुजरातको प्लान्ट बेचे पनि तामिलनाडूको प्लान्ट भने राखेकाले भारतलाई उसले रणनीतिक रूपमा महत्त्व दिँदै आएको देखिन्छ।

जुन २०२६ बाट सुरु हुने उत्पादन सुरुमा इन्जिनबाट सुरु हुनेछ र त्यसपछि क्रमशः कार उत्पादनतर्फ बढ्ने बताइएको छ।

तर, प्लान्टबाट उत्पादन हुने कारहरू तत्काल भारतीय बजारमा बिक्री नहुने र सुरुवाती चरणमा निर्यातलाई प्राथमिकता दिने संकेत गरिएको छ।

फोर्डले भारतमा ३२ अर्ब ५० करोड भारु लगानी गर्ने बताएको छ।

प्रारम्भमा वार्षिक २ लाख ३५ हजार इन्जिन उत्पादन गर्ने योजना रहेको छ। यसका लागि फोर्ड र तामिलनाडू सरकारबीच एमओयू पनि भइसकेको छ।

फोर्डले सन् १९९० को मध्यतिर भारत प्रवेश गर्दा चीनजस्तै ठूलो बजार बन्ने आशा गरेको थियो।

तर अपेक्षाअनुसार बजार विस्तार हुन नसक्दा २०२१ सम्म कम्पनीको करिब २ अर्ब अमेरिकी डलर नोक्सानी भएको भन्दै उत्पादन बन्द गर्ने निर्णयमा पुगेको थियो।

अब भारतको अर्थतन्त्र झन् बलियो बन्दै गएको र भविष्यमा ठूलो बजार बन्न सक्ने सम्भावना देखेर फोर्डले भारतबाट पूर्ण रूपमा बाहिरिने योजना नराखी फेरि उत्पादन सुरु गर्ने निर्णय गरेको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *