लुम्बिनी प्रदेशमै पहिलो पटक अनलाइन माध्यमबाट चल्ने ट्याक्सी तथा मोटरसाइकल सेवा **‘ई-ड्राइभ नेपाल’**ले आजदेखि नेपालगञ्जमा औपचारिक सेवा सुरु गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले सेवाको उद्घाटन गरेका हुन्। यो सेवा आजदेखि बाँके र बर्दिया जिल्लामा सुरु भएको छ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख बिष्टले प्रविधिमैत्री यस्ता सेवाले सहरको यातायात सहज बनाउने र नागरिकलाई सुरक्षित तथा भरपर्दो सेवा दिने विश्वास व्यक्त गरे।
उनले विद्युतीय ट्याक्सी सेवाले देशमै काम गर्ने वातावरण पनि बनाएको बताए।
ई-ड्राइभ सेवा १८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु भएको थियो। अब उक्त सेवा बाँकेको मुख्य सहर नेपालगञ्जमा विस्तार गरिएको ई-ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिए।
उनले अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा दिने उद्देश्यले नेपालगञ्जमा सञ्चालन गरिएको बताए।
ई-ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले यो सेवा युवालाई स्वदेशमै रोजगारी र स्वरोजगार दिने लक्ष्यसहित सुरु गरिएको बताए।
साथै, भविष्यमा देशभर विस्तार गर्ने योजना पनि रहेको उल्लेख गरे।
हाल ई-ड्राइभ लुम्बिनीले ७ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।
रुपन्देहीमा ११० ट्याक्सी र ५०० भन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको कम्पनीले नेपालगञ्जमा सुरुमा १५ वटा विद्युतीय ट्याक्सीबाट सेवा सुरु गरेको जनाएको छ।
Post Views: 73