धाप्लाङघाट पुल निर्माणले गति

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीको धाप्लाङघाटमा निर्माणाधीन २०० मिटर लामो मोटरेबल पुलको काम फेरि तीव्र बनेको छ।

ठेकेदारको लापरवाहीका कारण झण्डै ९ वर्षदेखि अलपत्र परेको यो पुलको काम अघि बढेपछि दक्षिणी क्षेत्रका नागरिकमा आशा बढेको छ।

यो पुलका लागि २०७३ असार ३० मा सम्झौता भएको थियो र २०७४ भदौ ३१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए।

सुरुमा २०७६ मै सक्ने लक्ष्य भए पनि निर्माण कम्पनीको लापरवाहीले काम रोकिएको थियो।

संघीय सरकारको २१ करोड ६५ लाख रुपैयाँ लागतमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले पुल निर्माणको जिम्मा लिएको थियो।

पछि लिड कम्पनी स्वच्छन्दलाई कालोसूचीमा राखेर धरौटी तानेपछि जेभीकै रसुवा कन्स्ट्रक्सनले काम अघि बढाएको हो।

स्थानीयका अनुसार पूर्वमन्त्री भूपेन्द्र राईको निरन्तर दबाबपछि निर्माणले गति लिएको हो।

हाल पुल निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ। सुरुमा वेल फाउन्डेसन प्रविधिबाट काम थालिए पनि सम्भव नभएपछि डिजाइन परिवर्तन गरी पाइल फाउन्डेसन प्रविधि अपनाइएको छ।

६ वटा पिलरमध्ये ४ वटा बनेका छन्, तर एउटा पिलर बाढीले बिगारेकाले पुनर्निर्माण गर्नुपर्ने भएकाले अझै ३ वटा पिलर बनाउन बाँकी छ।

पुल नहुँदा ठूलो सवारीसाधन वारपार गर्न नसक्दा ढुवानी महँगो पर्ने र स्थानीय उत्पादन निकासी गर्न कठिन भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

थपिएको म्यादअनुसार पुल निर्माण २०८४ जेठ १९ भित्र सक्नुपर्नेछ, तर निर्माण कम्पनीले २०८३ चैतभित्र सवारी आवतजावत गराउने लक्ष्य लिएको जनाएको छ।

पुल नबन्दासम्मका लागि अस्थायी बेलिब्रिज जडान गर्ने काम पनि सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *