नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (NAIMA) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय (KVTPO) बीच काठमाडौँ उपत्यकामा कार्यरत १,६५१ जना ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप (Soft Skills) र नयाँ सवारी प्रविधिबारे नियमित तालिम प्रदान गर्ने पाँच वर्षे दीर्घकालीन समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
यो समझदारी ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ को उद्घाटन अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र NAIMA का बोर्ड सदस्य सौरभ ज्योतिबीच आदान–प्रदान गरिएको हो।
तालिमको मुख्य उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण र प्रविधिमैत्री अभ्यासमा निरन्तर रूपमा अद्यावधिक गर्दै नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बनाउनु रहेको छ।
समझदारीअनुसार NAIMA ले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता प्रयोग गरी नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवप्रवर्तनको प्रयोग तथा यातायात प्रणालीसँग सम्बन्धित विषयमा तालिम सामग्री, प्राविधिक स्रोत, विज्ञ सहजीकरण र आवश्यक समन्वय उपलब्ध गराउनेछ।
त्यसैगरी, ट्राफिक प्रहरीले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन र गुणस्तर सुनिश्चितताको जिम्मेवारी लिनेछ।
समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गतेदेखि सुरु हुनेछ।
तालिम १७ कार्यदिन सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ।
तालिममा तनाव व्यवस्थापन तथा ध्यान, सञ्चार र द्वन्द्व व्यवस्थापन, नयाँ सवारी प्रविधिको सैद्धान्तिक तथा प्रत्यक्ष अवलोकन, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण र आवश्यक ह्यान्ड–जेस्चर सीपजस्ता विषय समेटिनेछन्।
तालिम सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुलचोक तथा थापाथली क्याम्पसका प्राध्यापक, जीवन विज्ञानका प्रशिक्षक, NAIMA का सदस्य कम्पनीका प्राविधिक विज्ञ, प्रेरणादायी वक्ता तथा जीवन प्रशिक्षकहरू सहभागी हुनेछन्।
साथै, केही सत्रहरू ट्राफिक प्रहरीका वरिष्ठ अधिकृतहरूले नै सञ्चालन गर्नेछन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरीलाई नयाँ सवारी प्रविधि र जनसम्पर्क–केन्द्रित सेवामा निरन्तर शिक्षित बनाउनु आवश्यक रहेको उल्लेख गरे।
NAIMA का पदाधिकारीहरूले यो दीर्घकालीन सहकार्यले सडक सुरक्षा सुदृढ गर्दै नागरिकमैत्री ट्राफिक सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।