चिसो मौसम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढ्न थालेको छ।
दिउँसो घाम लागेर केही न्यानो भए पनि बिहान र साँझ अत्यधिक चिसो हुने गरेको छ।
यसै कारण धुलो–धुवाँका कण वायुमण्डलमै अड्किएर आकाश मधुरो देखिन थालेको छ भने बिहान–साँझ तुवाँलो लाग्ने गरेको छ।
मंगलबार साँझ काठमाडौंको औसत वायु गुणस्तर सूचकांक (AQI) १३९ पुगेको थियो, जुन अघिल्लो दिन १०८ मात्र थियो।
विभिन्न स्थानमध्ये लाजिम्पाट, बाहगल, क्षेत्रपाटी, बालुवाटार र बालाजुमा प्रदूषणको मात्रा बढी मापन गरिएको छ।
यस्तो स्तरको प्रदूषण बालबालिका, वृद्धवृद्धा, गर्भवती र श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरूका लागि हानिकारक मानिन्छ।
विशेषज्ञका अनुसार अहिले हावा नचल्नु र पानी नपर्नुले धुलो–धुवाँका कण फैलिन नपाई उपत्यकामै थुनिएका छन्।
उपत्यकाको भौगोलिक संरचनाका कारण पनि प्रदूषण हट्न कठिन भएको हो। पछिल्लो समय तापक्रम घटेकाले यो समस्या अझ बढेको देखिएको छ।
अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले पनि नेपालको हावामा प्रदूषण बढ्दो क्रममा रहेको देखाएका छन्।
पछिल्लो तथ्यांकअनुसार नेपाल विश्वकै अत्यधिक प्रदूषित देशमध्ये पर्दछ भने काठमाडौं पनि प्रदूषित राजधानीहरूमध्ये एक हो।
नेपालीले सास फेर्ने हावा स्वच्छ हावाको तुलनामा धेरै गुणा बढी प्रदूषित रहेको जनाइएको छ।
वातावरणविद्हरूका अनुसार नेपालमा जनवरीदेखि अप्रिलसम्म वायु प्रदूषण उच्च हुन्छ। यस अवधिमा चिसो, हावा नचल्नु र पछि डढेलोको असरले प्रदूषण झन् बढ्ने जोखिम हुन्छ।
विज्ञहरूले प्रदूषण नियन्त्रणका लागि मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न, मापन केन्द्र थप्न र स्थानीय तहसम्म प्रभावकारी योजना बनाउन आवश्यक रहेको बताएका छन्।