मुक्तिनाथ मन्दिर दर्शनपछि वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ पुग्न सकिने गरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, २ र ३ जोड्ने मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण तीव्र गतिमा भइरहेको छ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा यस सडकको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ।
गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले मुक्तिनाथ–पुराङ हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ योजना कार्यान्वयन गरिरहेको हो।
६ मिटर चौडाइको वैकल्पिक सडक विस्तारका लागि ७ करोड १ लाख ५६ हजार रुपैयाँ लागतमा २०८१ साउन २९ गते ठेक्का सम्झौता गरिएको थियो।
दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०८३ साउन २९ गतेसम्म समयावधि तोकिएको छ।
योजनाअनुसार १० किलोमिटरमध्ये ६.५ किलोमिटर नयाँ ट्र्याक खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने काम छ।
नयाँ ट्र्याक खुलिसके पनि गत असोजको वर्षाले केही स्थानमा क्षति पुगेकाले मर्मत आवश्यक देखिएको छ।
हालसम्म वित्तीय प्रगति २८.५८ प्रतिशत पुगेको छ र २ करोड ५६ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।
यो सडक पूरा भएपछि माथिल्लो मुस्ताङका स्थानीय र पर्यटकले कागबेनी–खिंगा हुँदै घुम्नुपर्ने बाध्यता हट्नेछ।
छुसाङबाट तेताङ हुँदै मुक्तिनाथ पुग्न सहज हुने भएकाले दूरी छोटिनेछ।
सडक सम्पन्न भएसँगै छेंगुर, झोङ, पुडाक र तेताङका स्थानीयलाई आवागमनमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।