हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक निर्माणको ठेक्का अन्ततः रद्द गरिएको छ।
योजना कार्यालय धनगढीले काठमाडौंको बाबा हन्स–सिद्धीसाई जेभीसँगको ठेक्का सम्झौता बिहीबार रद्द गर्दै सार्वजनिक सूचना जारी गरेको हो।
यो सडकका लागि ठेक्का २०७३/७४ मा भएको थियो। करिब २० किलोमिटरसम्मको सडकमध्ये ५ किमि मात्रै पिच गर्न बाँकी छ। अहिले समग्र प्रगति करिब ८२% मात्र छ।
योजना कार्यालयका अनुसार बारम्बार ताकेता गर्दा पनि काम नगर्ने, प्रतिबद्धता पूरा नगर्ने र साइट पूरै ठप्प पारेकाले ठेक्का तोडिएको हो।
१४ कात्तिकमा ‘किन ठेक्का नतोड्ने?’ भन्दै १५ दिने स्पष्टीकरण मागिएको थियो तर ठेकेदारले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद ऐन अनुसार ठेक्का रद्द गरिएको बताइएको छ।
अब निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ, बाँकी रकम सरकारी बाँकीसरह असुल गरिनेछ र उनीहरूलाई कालोसूचीमा राख्न पनि सिफारिस गरिएको छ।
बाँकी कामको नापजाँच र आर्थिक विवरण फाइनल गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ, नभएमा कार्यालयले स्वयं नापजाँच गर्नेछ।
Post Views: 198