सिधनियाघाट पक्की पुल तीव्र

नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा–५ को राप्ती नदीस्थित सिधनियाघाटमा निर्माण भइरहेको फराकिलो पक्की पुलको काम तीव्र गतिमा अघि बढिरहेको छ।

११ मिटर चौडाइ हुने यो पुल बनेपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका स्थानीयलाई अब सहज रूपमा आवतजावत गर्न सकिनेछ।

अहिले रहेको साँघुरो पुलका कारण सवारीले पालो कुर्नु पर्ने बाध्यता अन्त्य हुनेछ।

स्थानीयका अनुसार दुई लेनको नयाँ पुल बनेपछि नदी पार गर्न धेरै सहज हुनेछ। पुल ५०% भन्दा बढी सकिएको र काम द्रुत गतिमा भइरहेको योजना कार्यालयले जानकारी दिएको छ।

सम्झौता भएको एक वर्ष डिजाइनमा खर्चिएपछि केही ढिलाइ भए पनि अब असारभित्र पुल पूरा गर्ने लक्ष्य राखिएको छ।

करिब १५ वर्षअघि बनेको पुरानो पुल साँघुरो भएपछि नयाँ फराकिलो पुल निर्माण शुरू गरिएको हो।

२०७९ माघ १० गते लुम्बिनी–रौताह–बन्धन–भगवती जेभीसँग ५३ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो।

यस परियोजनाको लागत करिब १ अर्ब १९ करोड रूपैयाँ छ।

पुलको करिब ७०० मिटर संरचना, १४८० मिटर एप्रोच सडक तथा ४ किमीसम्म नदी नियन्त्रणका काम एकसाथ सम्पन्न गर्ने योजना रहेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *