बाँकेमा निर्माण भइरहेको हुलाकी सडक अहिले पूर्वपश्चिम राजमार्गको सजिलो वैकल्पिक मार्गका रूपमा लोकप्रिय बन्दै गएको छ।
राप्तीसोनारी–६ कुण्डाचोकदेखि अगैया जोड्ने यो सडकमा सवारी चहलपहल निकै बढेको छ।
विशेषगरी नेपालगञ्जबाट दाङतर्फ जाने यात्रुहरू दूरी छोटो हुने भएकाले हुलाकी सडकलाई प्राथमिकता दिन थालेका छन्।
कोहलपुर हुँदै जाने हो भने निकुञ्जको टाइम कार्ड पालन गर्नुपर्ने भएकाले धेरै सवारी हुलाकी सडकतर्फ मोडिन थालेको भेरी बस व्यवसायी संघका अध्यक्षले बताए।
फत्तेपुरदेखि बैजापुरसम्म कालोपत्र भएपछि राप्तीसोनारीका वडा १ देखि ६ सम्मका बासिन्दालाई नेपालगञ्ज आउजाउ निकै सहज भएको छ।
गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि अब कम दूरी लाग्ने भएकाले स्थानीयले राहत पाएका छन्। पुल र कल्भर्ट बनेपछि सडक झनै सुरक्षित भएको छ।
राप्ती नदीको सिधनियाघाटमा ११ मिटर चौडाइको पक्की पुल निर्माण तीव्रगतिमा चलिरहेको छ।
अहिले साँघुरो पुलका कारण पालो कुर्नु परेको भए पनि नयाँ पुल बनेपछि सवारी सहजै वारपार गर्न सकिनेछ। पुलको ५०% भन्दा बढी निर्माण कार्य सकिएको छ।
हुलाकी सडक हाल नेपालगञ्ज–दाङ–पूर्वतर्फ यात्रा गर्नेहरूको मुख्य वैकल्पिक बाटो बन्दै गइरहेको छ, र नयाँ पुल बनेपछि यो मार्ग अझ सुविधा जनक हुने अपेक्षा गरिएको छ।