टोस्टमास्टर्स साइटेसन सम्पन्न

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन ‘साइटेसन २०२५’ शनिबार काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा सम्पन्न भयो।

कार्यक्रममा देशभरका व्यवसायी, पेशाकर्मी, विद्यार्थी, शिक्षक र विभिन्न क्षेत्रका लगभग ३०० सदस्य सहभागी भए।

सम्मेलनको मुख्य आकर्षण अन्तर्राष्ट्रिय स्तरका चर्चित वक्ता मिहिर कोल्थरकरको किनोट सेसन थियो।

उनले नेतृत्व विकासबारे व्यावहारिक र अन्तरक्रियात्मक प्रशिक्षण दिँदै सहभागीहरूलाई प्रेरित गरे।

मिहिरले २० वर्षमा २५०० भन्दा बढी तालिम सञ्चालन गरिसकेका छन्।

कार्यक्रमको अर्को महत्वपूर्ण भाग कम्युनिकेटर अवार्ड थियो।

यो पुरस्कार प्रत्येक वर्ष सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान दिने गैर–टोस्टमास्टर्सलाई दिइन्छ।

यस वर्ष यो सम्मान सञ्चारकर्मी टिकाराम यात्रीलाई निष्पक्ष र नैतिक पत्रकारितामा योगदान पुर्याएको आधारमा प्रदान गरिएको हो।

पुरस्कार ग्रहण गर्दै उनले जिम्मेवारीपूर्ण पत्रकारिताको महत्व बताउँदै आफ्नो भूमिकाप्रति अझ सचेत भएको बताए।

त्यसैगरी, नेपालमा टोस्टमास्टर्सको सुरुवातमा योगदान दिएका डिस्टिंगुइस्ड टोस्टमास्टर रविन लामाले हास्य मिश्रित प्रेरणादायी मन्तव्य प्रस्तुत गरे।

कार्यक्रममा टल–टेल र मुल्यांकन मन्तव्य जस्ता प्रस्तुति पनि गरिएका थिए।

साइटेसनमा डिस्ट्रिक्ट ४१ का विभिन्न पदाधिकारीहरू, जसमध्ये श्वेतांक शर्मा, दीप्ती क्षेत्री, युडेन कोइराला, अकिंत गोएन्का, मुन प्रधान र रन्जित आचार्य लगायत उपस्थित थिए।

सम्मेलनको अध्यक्षता नेपाल टोस्टमास्टर्स कन्ट्री अफिसका संयोजक दिपेश चालिसेले गरे।

टोस्टमास्टर्स इन्टरनेशनल १९२४ देखि सञ्चार र नेतृत्व क्षमता विकास गर्दै आएको विश्वव्यापी गैर–नाफामूलक संस्था हो।

हाल १४९ देशमा १३,८०० क्लबमार्फत २,६५,००० भन्दा बढी सदस्य संलग्न छन्।

नेपालमा यो अभियान सन् १९९२ बाट सुरू भएको हो। अहिले देशभर ६८ क्लब१,४०० भन्दा बढी सदस्य कार्यरत छन्।

नेपालका क्लबहरू उत्तर भारतसमेत समावेश हुने डिस्ट्रिक्ट ४१ अन्तर्गत पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *