कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुल ९५ प्रतिशत पूरा भइसके पनि बाँकी काम एक वर्षदेखि रोकिएपछि परियोजना अन्योलमा परेको छ।
महाकाली पुललाई सुदूरपश्चिमको प्रमुख आर्थिक नाका र महाकाली करिडोरसँग जोड्ने योजना सरकारी उदासिनताका कारण प्रभावित भएको योजना कार्यालयका सूचना अधिकारी रवि शाहले बताए।
८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने गाइडबण्ड (ड्याम) निर्माण सुरु हुन नसकेपछि कम्पनीले काम छाडेको हो।
डिजाइन परिवर्तन स्वीकृत भए पनि भेरियसन आदेश नआएपछि कुमार श्रेष्ठ कन्स्ट्रक्सन र चीनको सीएफसी कम्पनीले ठेक्का रोक्का गरेका हुन्।
सडक विभागले निर्णय नलिएपछि काम ठप्प छ। नेपाली सेनाले बाढीपछिको क्षति नियन्त्रणका लागि तीन महिनासम्म अस्थायी काम गरी २० करोड खर्च गरेको थियो।
तीन अर्ब ६६ करोड लागतको यो पुल २०७४ भदौमा सुरु गरिएको थियो।
उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश मल्लका अनुसार पुल र सुक्खा बन्दरगाह बने पश्चिमी नाका ठूलो आर्थिक केन्द्र बन्न सक्थ्यो, तर सरकारी ढिलाइले परियोजना संकटमा परेको छ।