छ वर्षदेखि दाङखोला पुल अलपत्र

म्याग्दी जिल्लाको मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ सिमानामा पर्ने दाङखोला पुल छ वर्ष बित्दासमेत निर्माण सुरु नभएको कारण स्थानीय तथा जनप्रतिनिधिले सम्बन्धित निकायलाई दबाब दिएका छन्।

विसं २०७६ जेठ २२ गते पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी-फेवा जेभी पोखराबीच करिब १ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

१८ मिटर लामो मोटरेबल पुल विसं २०७७ जेठसम्म पूरा गर्ने योजना बनाइएको थियो।

तर, दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधका कारण पुलको क्षेत्र डुबानमा पर्ने देखिएपछि स्थान परिवर्तनको प्रस्ताव गरिएको थियो।

प्रदेश सरकार र आयोजनाबीच पुल माथिल्लो क्षेत्रमा बनाउन सहमति भए पनि काम सुरु नभएको गुनासो स्थानीयको छ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार, जलविद्युत् आयोजनाले सहमतिअनुसार काम नगरेको र अदालतसम्म मुद्दा पुगेकाले पुल निर्माण रोकिएको हो।

यसअघि विसं २०७५ मा बनाइएको अस्थायी पुल जीर्ण भएपछि गुर्जा, लुलाङ, मुना, ताकमका बासिन्दा आवतजावतमा कठिनाइ भोगिरहेका छन्।

आयोजनाले पटक–पटकको आग्रह बेवास्ता गरेपछि फेदीमा बसेको सर्वदलीय बैठकले दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ।

जलविद्युत् आयोजनाका निर्देशक तेजेन्द्र रोकाले आफू नयाँ सञ्चालक भएको र पुरानो सहमति बारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *