नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार संघका सम्पूर्ण सदस्य तथा परिवारजनले नियमित स्वास्थ्य परीक्षण सुविधा पाउनेछन्।
विजयादशमी, दीपावली, म्हःपूजा, नेपाल संवत र छठ पर्वको अवसरमा राजधानीको कुलेश्वरस्थित स्टार दरबारमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा संघका अध्यक्ष रमेश कोइराला र एभरेष्ट अस्पतालका प्रतिनिधि अविनाश झाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
त्यस अवसरमा सन नेपाल लाइफ इन्सुरेन्स र सलीको इन्सुरेन्स कम्पनीबीच संघका सदस्यलाई लक्षित बीमा सेवा सञ्चालन गर्ने सहमति भएको घोषणा पनि गरिएको थियो।
कार्यक्रममा कानुनी सल्लाहकार रुद्र ढुङ्गेलले आगामी दिनमा सञ्चालन हुने स्वास्थ्य परीक्षण प्याकेज, बीमा सुविधा तथा अन्य कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दै सदस्यहरूलाई एकता र सहकार्यमा जोड दिन आह्वान गरे।
अध्यक्ष कोइरालाले पर्वहरूले ल्याउने भाईचारा र सामाजिक एकताको महत्व औंल्याउँदै संघलाई अझ मजबुत बनाउन सदस्यहरूको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रममा प्रमुख अतिथि श्रीकृष्ण प्रसाद अधिकारीसहित पदाधिकारी, सदस्य र आमन्त्रितहरूको उल्लेखनीय सहभागिता रहेको थियो।