विश्व अटोमोबाइल उद्योग अहिले ठूलो परिवर्तनको चरणमा छ। पेट्रोल–डिजेलमा चल्ने गाडीको बिक्री घट्दै गएको र विद्युतीय तथा हाइब्रिड गाडीको प्रयोग तीव्र रूपमा बढिरहेको तथ्यांकले देखाएको छ।
२०१९ मा विश्वभर बिक्री भएका नयाँ गाडीमध्ये ९१ प्रतिशतभन्दा धेरै आईसी इन्जिन (पेट्रोल–डिजेल) थिए। तर २०२५ को पहिलो त्रैमासमा यो घटेर ५७ प्रतिशत मात्र भएको छ।
यसै अवधिमा विद्युतीय गाडीको हिस्सा १.९ प्रतिशतबाट बढेर १५.७ प्रतिशत पुगेको छ भने हाइब्रिड गाडीको हिस्सा ६ प्रतिशतबाट बढेर २१ प्रतिशत पुगेको छ।
चीन विद्युतीय गाडीको सबैभन्दा ठूलो बजार बनेको छ।
२०२५ को पहिलो त्रैमासमा विश्वभर दर्ता भएका ब्याट्री इलेक्ट्रिक गाडीमध्ये ५७ प्रतिशत चीनमै रहेका छन्। यसका पछाडि सरकारी सहुलियत र ब्याट्री उत्पादनमा चीनको क्षमता मुख्य कारण हो।
युरोपमा २२ प्रतिशत र अमेरिकामा १२ प्रतिशत विद्युतीय गाडी दर्ता भएका छन्।
नेपालमा पनि ईभीको स्वीकृति उच्च छ, नयाँ बिक्री हुने गाडीमध्ये करिब ७५ प्रतिशत ईभी हुन्छन्, तर कुल संख्यामा कम भएकाले विश्वस्तरमा नेपाललाई धेरै चर्चा दिइँदैन।