चितवनमा यातायात सुधार कार्यशाला

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा चितवन जिल्लामा सार्वजनिक यातायात सुधार सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला चितवन उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भयो। कार्यक्रममा करिब ७० जनाको सहभागिता थियो।

कार्यक्रमको शुरुवातमा नासा नेपालका परियोजना तथा वैदेशिक मामिला संयोजक सुवास भट्टराई र प्रशासन तथा मोबिलिटी व्यवस्थापक किरण धितालले भरतपुर महानगरपालिकामा सम्पन्न सार्वजनिक यातायात अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै राय र सुझाव संकलन गर्नुभयो।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्री राज शर्माले ट्राफिक नियम, कानुन र सार्वजनिक यातायातको वर्तमान अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, सार्वजनिक यातायात समिति, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग वाणिज्य संघ, बागमती प्रदेश अटोमोबाइल्स संघ, भरतपुर महानगरपालिका, उद्योग व्यवसायी, सार्वजनिक सवारी चालक, सहचालक, युवा र विद्यार्थीको सहभागिता थियो।

सार्वजनिक यातायात समितिका पदाधिकारी र प्रतिनिधिहरूले जिल्लामा विद्यमान चुनौती, समस्या र सुधारका सम्भावनाबारे धारणा राखे।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले स्मार्ट सार्वजनिक यातायात प्रणालीको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाबीच सहकार्य र समन्वय अनिवार्य हुने बताए।

कार्यक्रमको समापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले सार्वजनिक यातायात सुधारका लागि संघले आवश्यक संयोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो भने नासा नेपालका संयोजक सुवास भट्टराईले प्राप्त सुझावहरू सरकारी निकायमा पेश गरिने र कार्यान्वयनको निरन्तर समिक्षा गरिने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *