काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक स्तरोन्नति योजना लक्ष्यअनुसार अघि बढ्न सकेको छैन।

यदि अहिलेको गतिमा नै काम चल्ने हो भने तीन वर्षभित्र यो आयोजना सम्पन्न नहुने अनुमान गरिएको छ।

कुल १२० किलोमिटरमध्ये ९५.७६ किलोमिटरमा मात्रै स्तरोन्नतिको काम सुरु गरिएको हो।

यस योजनामा एसियाली विकास बैंकले ८४.९ प्रतिशत ऋण र नेपाल सरकारले १५.१ प्रतिशत लगानी गरेको हो।

काम सम्पन्न भएपछि काँकडभिट्टा–लौकही सडक सहरी क्षेत्रमा चार लेनसहित बीचमा तीन मिटर चौडा डिभाइडर र दुवैतर्फ सर्भिस लेनसहित ५० मिटर चौडाइको हुनेछ।

अर्ध सहरी क्षेत्रमा चार लेनमा दुवैतर्फ एक–एक अतिरिक्त लेन थपेर ३३ मिटर चौडा बनाइनेछ। बाँकी क्षेत्रमा चार लेनको २४ मिटर चौडाइ हुने जनाइएको छ।

सडक योजनालाई दुई भागमा बाँडिएको छ — काँकडभिट्टा–केर्खा–सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्मको ५०.७६ किलोमिटर पश्चिमी खण्ड।

हालसम्म दुवै खण्डमा ३० प्रतिशत प्रगति हुनुपर्ने भए पनि पूर्वी खण्डमा २१.१० प्रतिशत र पश्चिम खण्डमा २५ प्रतिशत मात्रै प्रगति देखिएको छ।

पूर्वी खण्डमा इभरस्कोन–कालिका जेभीले १० अर्ब ६ करोडको ठेक्का लिएर २०८० साल माघ १९ गतेदेखि काम थालेको हो।

इञ्जिनियर आश्रय महतका अनुसार ३०० मिटरभन्दा साना १८ वटा पुलमध्ये १७ वटा निर्माणाधीन छन् र ६३ वटा कल्भर्ट निर्माण भइसकेका छन्।

२ किलोमिटर ढल, ८ किलोमिटर सब-बेस र १.७ किलोमिटर बेसको काम सम्पन्न भइसकेको छ।

यो खण्ड पुरै झापामा पर्छ। अहिले विद्युतीय पोल सार्ने र सहरी क्षेत्रमा साइट क्लियर गर्ने काम अन्तिम चरणमा पुगेको छ।

तर माटोको अभावका कारण केही स्थानमा काम रोकिएको छ।

निन्दा, बिरिङ र कन्काई नदीमा बन्ने ३०० मिटरभन्दा लामो पुलहरूको ठेक्का कोभेक क्रेग तुँदी जेभीले ५ अर्ब ९७ करोडमा पाएको छ। हाल ती पुलहरूको प्रगति १९.३५ प्रतिशत मात्र छ।

पश्चिम खण्डमा प्याकेज नं. २, ३ र ५ गरी तीन वटा ठेक्काहरू छन्।

प्याकेज नं. २ अन्तर्गत सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको ४० किलोमिटरमा क्रेग तुँदी जेभीले ९ अर्ब १३ करोड ८२ लाखमा ठेक्का लिएको हो।

प्याकेज नं. ३ अन्तर्गत गोठगाउँदेखि इटहरी लविपुरसम्म १०.७६ किलोमिटरमा कोभेक क्रेग तुँदी जेभीले ४ अर्ब ७ करोड ३५ लाखमा सम्झौता गरेको हो।

इञ्जिनियर पल्लब श्रेष्ठका अनुसार प्याकेज २ र ३ मा औसतमा २५ प्रतिशत प्रगति भएको छ।

उक्त ५०.७६ किलोमिटर क्षेत्रमा ३०० मिटरभन्दा साना २८ वटा पुलमध्ये ४ वटा सकिएको छ, ६५ वटा कल्भर्ट पनि निर्माण भइसकेका छन्।

साथै ९ किलोमिटर साइट ड्रेन, १५ किलोमिटर सब–बेस, ४ किलोमिटर बेस र २.३ किलोमिटर पहिलो चरणको कालोपत्र पनि सम्पन्न भइसकेको छ।

सहरी क्षेत्रमा घर र अन्य संरचना हटाउने काम भइरहेको छ। तर नेपाल विद्युत् प्राधिकरणको पोल सार्न जिम्मा पाएको निर्माण व्यवसायीले ढिलाइ गर्दा साइट क्लियर हुन सकेको छैन।

इञ्जिनियर श्रेष्ठका अनुसार माटो र नदीजन्य निर्माण सामग्रीको अभावले पनि प्रगतिमा असर परेको छ।

उनले स्थानीय तथा प्रदेश सरकारले सहयोग गरेमा आगामी दिनमा कामको गति बढ्न सक्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *