पहिलो आधुनिक टनेल ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्गको निर्माण ९२.५ प्रतिशत सकिएको छ ।
ठेक्का प्राप्त जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले पुस ०७७) देखि सुरुङ निर्माणको काम सुरु गरेको थियो ।
त्यसयता साढे चार वर्षमा भौतिक प्रगति ९२.५ प्रतिशत पुगेको हो । वित्तीय प्रगति भने ८६.३४ प्रतिशत पुगेको परियोजनाद्वारा मंगलबार सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।
परियोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले निर्माणकार्य अन्तिम चरणमा पुगेको बताए ।
बाँकी काम सम्पन्न गरेर आगामी पुसदेखि सुरुङमार्ग सञ्चालन गर्ने उनको भनाइ छ ।
निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनलाई दिएको पछिल्लो म्याद आगामी ८ कात्तिकसम्म रहेको छ ।
‘यही अवधिभित्र काम सक्ने लक्ष्य छ । तर, त्यसमा केही चुनौती पनि छन् । तर, अब धेरै समय लाग्दैन,’ उनले भने, ‘पुस महिनामा सुरुङ सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’
परियोजनामा मुख्य र रेस्क्यु गरी दुई सुरुङमार्ग छन् । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं–नागढुंगामा निस्कने गरी निर्माण गरिएको छ ।
२६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख ०८१ र २५ सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउन ०८० मा छिचोलिएको थियो ।
त्यसपछि मुख्य टनेल र क्रस प्यासेजको कंक्रिट लाइनिङ (भित्ता र सिलिङको ढलान)को काम गत असोजमै सम्पन्न गरिएको थियो ।
यस्तै, रेस्क्यु टनेलभित्रको सडक तथा बाहिर र सुरुङभित्रको सडक जोडिने ठाउँमा ‘रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट’ (आरसिपी) प्रविधिबाट क्रंकिट गरिएको छ, त्यसअन्तर्गत हालसम्म २७ सय ८९ मिटर सडक कंक्रिट गरिएको आयोजनाले जनाएको छ ।
अब १०.९९ मिटर सडक मात्रै कंक्रिट गर्न बाँकी छ ।
यसैगरी, सुरुङबाहिर नौ हजार एक सय ६१ मिटर सडक कंक्रिट गर्नुपर्नेमा १२ सय ४२ मिटर सडक मात्रै कंक्रिट गर्न बाँकी छ ।