चर्को गर्मीले हैरान भएका अफगानिस्तानका ट्याक्सी चालकहरूले यात्रुहरूलाई शितलता दिन एक अनौठो तर व्यावहारिक उपाय निकालेका छन् ।
त्यो हो- ट्याक्सीको छानामै स्वदेशी बनावटको ‘एयर कुलर’ जडान !
दक्षिण अफगानिस्तानको कान्धार सहरमा तापक्रम ४० डिग्रीमाथि पुग्ने गरेको छ ।
जसका कारण दिउँसो यात्रा गर्न असहज हुने गरेको छ । यो अवस्थामा ट्याक्सी चालकको युक्तिले यात्रुहरूलाघ सहज बनाइएको छ ।
छानोमा कुलर जडान गरिएपछि अहिले सहरका नीलो ट्याक्सीहरू बनावट फेरिएको छ ।
उक्त कुलरमार्फत गाडीभित्र चिसो हावा आउने गरेको छ ।
‘तीन/चार वर्षअघि हाम्रो कारको एसी बिग्रेको थियो ।
त्यसको मर्मत पनि खर्चिलो थियो,’ ३२ वर्षीय चालक गुल मोहम्मदले भने, ‘त्यसैले म एक प्राविधिककहाँ गएँ र आफ्नै डिजाइनको कुलर बनाएँ।’
उनले उक्त प्रणाली बनाउन करीब ३ हजार अफगानी (४३ अमेरिकी डलर) खर्चेका थिए ।
उनले आफ्नो कारको ब्याट्रीमा उक्त कुलर जोडेका छन् । उक्त कुलरमा नियमित रुपमा पानी हाल्नुपर्ने हुन्छ ।
चालक अब्दुल बारीका अनुसार, ‘यो साधारण एसीभन्दा राम्रो काम गर्छ।
एसीले अगाडिको मात्र भाग चिस्याउँछ, तर यो कुलरले पूरै गाडीभित्र चिसो बनाउँछ ।’
उक्त उपाय निकै प्रभावकारी रहेको अर्का चालक अब्दुल बारी बताउँछन्, ‘एसीले त केवल अगाडिको भाग मात्र चिस्याउँछ, तर यो कुलरले पूरै गाडीमा समान रूपमा चिसो बनाएको छ ।’
कान्धारका साना गल्लीदेखि मुख्य बजारसम्म, यस्ता ‘स्वदेशी शीतलन प्रणाली’ सुसज्जित ट्याक्सीहरू देखिन्छन् ।
जलवायु परिवर्तनको चपेटामा अफगानिस्तान
जलवायु परिवर्तनका कारण अफगानिस्तान दिनप्रतिदिन झन् बढी प्रभावित हुँदै गएको छ।
लगातार बढ्दो गर्मी, खडेरी र अत्यधिक तापद्वारा यो देश अहिले गम्भीर संकटको अवस्थामा पुगेको छ।
जलवायु परिवर्तनको प्रभावसँग जुझ्न विश्वकै एक कमजोर राष्ट्रका रूपमा रहेको अफगानिस्तानमा यस्तो स्थानीय आविष्कारले जीवनलाई सहज बनाउन योगदान पुर्याइरहेको छ।
२१ वर्षीय प्रविधिज्ञ मुर्तजाका अनुसार, पछिल्ला दुई–तीन वर्षयता ट्याक्सी चालकहरूबाट यस्ता कुलरको माग तीव्र रूपमा बढिरहेको छ।
‘धेरै गाडीहरूमा एसी छैन, त्यसैले हामीले यस्ता कस्टम प्रणाली जडान गर्न थालेका हौं,’ उनले कान्धारस्थित आफ्नो सानो कार्यशालाबाट जानकारी दिए।
ट्याक्सी चालकहरूको उक्त कामको खुलेर प्रशंसा भइरहेको छ।
१९ वर्षीय यात्रु नोरुल्लाह भन्छन्, ‘कुलर नभएको ट्याक्सीमा यात्रा गर्नु सजिलो कुरा होइन।
तर अहिले यी चालकहरूले चिसो हावाको व्यवस्था गरेर हामीलाई राहत दिएका छन्, जुन निकै सराहनीय छ।’