उदयपुरमा त्रियुगा नदीकाे बाढीले बस बगायाे

गएरातिको वर्षाले उदयपुरमा त्रियुगा नदीले बस बगाएको छ। चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बिचमा रहेको त्रियुगा नदी ड्यामबाट तर्ने क्रममा बाढीले बस बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिए।

योगीका अनुसार को १ ख ४७५३ नम्बरको बराहक्षेत्र लेखिएको बस बाढीले बगाएको हो।

धरान–बेल्टार रुटमा चल्ने बस सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा बगाएको हो। प्रहरीका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू सकुशल छन्।

बस डुबेको केही तलको स्थानमा ६ वर्षअघि निर्माणधीन अवस्थाको पक्की पुल बाढीकै कारण ढलेको थियो।

हाल पुल निर्माणको ठेक्का सम्झौता रद्द भएको छ। उक्त स्थानमा पुल बनेको भए आज बस नबग्ने भन्दै स्थानीयहरू आक्रोशित भएका छन्।

०६७ मा महालक्ष्मी–लोकप्रिय जेभी, कलंकीले नौ करोड ७६ लाखमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको ठेक्का पाएको थियो।

त्यसपछि सोही कम्पनीले पुलको लागत मूल्य समायोजन गरी ११ करोड २७ लाखमा निर्माण थालेको थियो।

निर्माण सम्पन्न हुनै लाग्दा असार ०७८ मा आएको बाढीले पुल ढलेको थियो। पुल नबन्दा चौदण्डीगढी नगरपालिका– ५, ९ र १० नम्बर वडाका झन्डै २० हजार स्थानीय मर्कामा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *