नेपाल एक जटिल भौगोलिक बनावट भएको भू–आवृत मुलुक हो। यता भारतमा १८५३ मा रेल सेवा सुरु भएसँगै त्यहाँ रेल सञ्जाल तीव्र गतिमा फैलियो।
नेपालमा भने १९२७ मा राणा शासनकालमा रक्सौल–वीरगन्ज–अमलेखगन्ज ४७ किमिको रेलमार्ग सञ्चालनमा आयो, जुन १९६६ मा बन्द भयो।
हाल नेपालमा रेल विकासलाई तीव्रता दिइँदैछ। भारतको सहयोगमा जयनगर–जनकपुर–भंगहा ब्रोडगेज रेलमार्ग सञ्चालनमा छ, जहाँ दैनिक झन्डै ४ हजार यात्रु लाभान्वित छन्।
यो विशेषगरी ग्रामीण, न्यून आय भएका वर्गको लागि सुलभ र सस्तो यातायात साधन बनेको छ।
रेल विस्तारको क्रममा बर्दिबाससम्म मार्ग निर्माणको तयारी भइरहेको छ।
त्यस्तै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बर्दिबास हुँदै निजगढसम्मको काम प्रगति अवस्थामा छ। निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल र रक्सौल–काठमाडौं रेलमार्गले यातायातमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।
साथै, नेपाल–भारतबीचका न्यु–जल्पाईगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगन्ज–नेपालगन्ज रोड जस्ता अन्य क्रस बोर्डर परियोजनाको अध्ययन भइसकेको छ।
चीनको केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पनि सम्पन्न भइसकेको छ।
रेलमार्गले नेपाललाई आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार र यातायातमा अभूतपूर्व फाइदा पुर्याउने निश्चित देखिन्छ।