विमानस्थल १० घण्टा बन्द गर्नु कति उचित ?: नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (शुक्रबार)देखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारेर स्तरोन्नतिको काम गर्दैछ ।
क्षमता र गुणस्तर अभिवृद्धिका लागि स्तरोन्नति आवश्यक भएको भनिएको विमानस्थल शुक्रबारदेखि कम्तीमा ५ महिना राति १० देखि बिहान ८ बजेसम्म ठप्प हुनेछ ।
यसअघि विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
यो अवधिमा प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फ अन्तर्राष्ट्रिय ‘एप्रोन’ र पूर्वतर्फ ‘ह्याङ्गर एप्रोन’ बनाउने योजना बनाएको छ ।
यो योजना सम्पन्न भएपछि विमानस्थलको क्षमता २० प्रतिशतभन्दा बढी हुने र एयर ट्राफिक व्यवस्थापन सहज हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल स्तरोन्नतिका लागि १० घण्टाका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको बताए ।
‘फराकिलो विमानस्थल भएको र पर्याप्त ठाउँ भइदिएको भए ट्याक्सी वे निर्माण गर्दा यति लामो समय विमानस्थल बन्द गर्नुपर्ने थिएन होला ।
तर हाम्रो विमानस्थल साँघुरो छ,’ अधिकारी भन्छन्, ‘त्यसमाथि रातको समयमा प्रायः ठुला विमानहरू उडान, अवतरण गर्छन् ।
विमानस्थलको रनवेबाट दायाँबायाँ दुवै साइटमा ७५ मिटरसम्म भूभाग हुनुपर्छ । जहाँ अन्य कुनै वस्तुहरू हुनुहुँदैन । यसले गर्दा उडान बन्द गर्ने निर्णय गर्नुपरेको हो ।’
उनी भन्छन्, ‘यसरी रनवेको दायाँबायाँ आइकाओको मापदण्ड पूरा हुन सकेन भने विमानस्थल खोल्नै पाइँदैन ।
यसमा अन्य प्राविधिक कारण पनि भएकाले बन्द गर्नुको विकल्प नदेखेका हौँ ।’
अधिकारीका अनुसार ट्याक्सीवेलाई रनवेमा जोड्नका लागि संरचनागत काम गर्नुपर्नेछ । त्यसको लागि विमानस्थल बन्द गर्नुको विकल्प छैन ।
त्यसमाथि गरिने पिच र अलकत्रा सेट हुन लाग्ने समयले पनि १० घण्टा बन्द गर्नुपरेको महानिर्देशक अधिकारीको भनाइ छ ।
यस विषयमा विज्ञहरूका पनि आ–आफ्ना तर्क छन् । पुलचोक क्याम्पस एरोस्पेस विभाग प्रमुख सुदीप भट्टराई विमानस्थलको सुरक्षा लगायत कारण निर्माणको क्रममा बन्द गर्नुलाई उचित ठान्छन् ।
‘रनवेसँग जोडिएका प्राविधिक र संरचनागत काम गर्नलाई केही समय विमानस्थल बन्द गर्नुलाई अन्यथा मान्नु हुँदैन,’ उनी भन्छन्, ‘तर प्राविधिक पाटोको मिहिन विश्लेषण गरेर दैनिक १० घण्टाको समय छोट्याउने र ५ महिनाको साटो अलि लामो अवधि लगाउने विकल्पबारे अध्ययन पनि गर्न सकिन्छ ।’
दैनिक लामो समय विमानस्थल बन्द हुँदा त्यसले समग्र हवाई क्षेत्रलाई नै प्रभाव पार्ने भट्टराईको भनाइ छ ।
उनी भन्छन्, ‘यसै पनि जाडो समयमा बिहान काठमाडौँबाट हुने हरेक उडानमा ढिलाइ हुन्थ्यो ।
अब झन् ८ बजे भनेको उडान दुई घण्टा मात्रै ढिला हुनसाथ त्यसले दिनभरको उडान, अवतरण तालिका र रातिको स्तरोन्नति दुवैलाई असर पार्न सक्छ ।’
एरोन्युटिकल इन्जिनियर सर्वज्ञ बराल भने यस्ता संरचनागत कामको लागि विमानस्थल बन्द गर्ने गरेको विषय अन्त कतै नसुनेको बताउँछन् ।
‘ट्याक्सी वे, ह्याङ्गर एप्रोन जस्ता संरचना बनाउन यति लामो समय बन्द गर्नुपर्ने आवश्यकता छैन,’ उनी भन्छन्, ‘ट्याक्सीवेलाई रनवेसँग जोड्ने बेला केही दिन, केही समय मात्रै विमानस्थल बन्द गरेर यो काम गर्न सकिन्थ्यो ।’
सामान्य कामको लागि मुलुकको प्रमुख र चालु रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई यसरी भद्रगोल बनाउँदा समग्र उड्डन क्षेत्र नै प्रभावित हुने उनको भनाइ छ ।
Visit homepage : eautonepal.com