त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द: क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे, एप्रोनलगायत विस्तारका काम गर्न लागेको हो ।

करिब पाँच महिनासम्म त्रिभुवन विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म दैनिक १४ घण्टा मात्र सञ्चालन हुनेछ ।

अहिले विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म २१ घण्टा सञ्चालन हुँदै आएको छ ।

दैनिक सात घण्टा उडान आवर घटेपछि करिब २९ प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान कटौती हुने क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

अन्तर्राष्ट्रियतर्फ दैनिक चार वा तीनवटा उडान गर्ने वायुसेवा कम्पनीको ५० प्रतिशत उडान कटौती भएका छन् ।

सातामा औसत ४१८ अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा मर्मत अवधिभर १२३ उडान कटौती भई २९५ उडान हुने क्यानको भनाइ छ ।

मर्मत अवधिभर विशेष सहुलियत दिएर भैरहवा र पोखरामा उडान सार्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आग्रह गरे पनि अहिलेसम्म थाई एयर एसिया, जजिरा र फ्लाई दुबईबाहेक अन्यले स्वीकार गरेका छैनन् ।

उडान कटौती हुने भएपछि अन्य विमान कम्पनीसँगै नेपाल एयरलाइन्सले पनि उडान तालिका फेरबदल गरेको छ ।

अहिलेसम्म काठमाडौं–नारिता उडान राति ११ः५० बजे हुने गरेकोमा अब ९:१५ बजे हुने भएको छ । नारिताबाट बिहान ११:२५ (स्थानीय समय)मा उड्ने जहाज अब ९:२५ मा उड्ने तालिका छ ।

काठमाडौं–दोहाको उडान राति ११ बजे हुँदै आएकोमा ९:३० बजे हुने गरी तालिका परिमार्जन गरिएको निगमले जनाएको छ ।

दोहाबाट काठमाडौंका लागि बिहान ३:२५ मा (स्थानीय समय) उड्ने जहाजले २ः२५ बजे नै उडान गर्ने भएको छ ।

त्यस्तै, काठमाडौं–दुबई उडान राति ११:१५ बजे हुने गरेकोमा अब ९:३५ मा हुनेछ । दुबईबाट काठमाडौंका लागि ४:१० (स्थानीय समय)मा उडान गर्नेछ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *