२६ दिनपछि कोदारी राजमार्ग संचालन

२६ दिनपछि कोदारी राजमार्ग संचालन : असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध कोदारी राजमार्ग २६ दिनपछि संचालनमा आएको छ।

अबिरल वर्षाले भोटेकोसी नदीको बेलिब्रिज र लिपिङखोलाको पुल बगाएको थियो ।

कोदारी र कोप्लाङमा पहिरोले एक किलोमिटर सडक ध्वस्त भएको थियो ।

सडक डिभिजन, स्थानीय सरकार र तातोपानी नाकामा क्रियाशील व्यापारीको लगानी र दिनरातको खटाइपछि सडक खुलाइएको हो । बेलिब्रिज बगाउँदा भोटेकोसी वडा नं ३ र ४ को सम्पर्क टुटेको थियो।

सरोकारवाला सबैले मेहेनत गरेर भोटेकोसी नदीमा ह्युमपाइप बिच्छ्याएर सडक संचालन गरिएको थियो।

बाढीपहिरो गएको  १० दिनभित्रै ह्युमपाइप हालेर सडक संचालन गरिए पनि कोप्लाङ र कोदारीको पहिरो पन्छाउन बढी समय लाग्यो ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले दिएको जानकारी अनुसार लिपिङ खोलामा ह्युमपाइप राखेर २० मिटर खाल्डो पुरेपछि कोदारी सडक मित्रराष्ट्र चीनसँग बुधबार रातिदेखि  जोडिएको हो।

सडक सुचारु भएपछि तातोपानी नाकाबाट मालबाहक कन्टेनर धमाधम भन्सार यार्डमा  आउन थालेका छन्।

लिपिङखोलामा हाल्न ल्याइएको बेलिब्रिज फाउन्डेसन तयार पारेर सकभर छिटो जडान गर्ने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

बेलिब्रिजको फाउन्डेसन तयार गर्न लिपिङ वारिपारि रहेका दुईवटा घर भत्काइएको छ।

लिपिङखोलामा ह्युमपाइपमाथि ढुंगागिटी माटोले पुरेर माथिपटि  सुरुङबाट निस्कने मक बिच्छ्याएर अस्थायी रुपमा सडक सञ्चालन गरिएको बस्नेतले जानकारी दिए।

सडक निर्माणमा तातोपानी नाका भएर ब्यापार गर्ने संघसंस्था र ट्रान्सपोर्ट कम्पनी क्रियाशील छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतसहित व्यापारीहरु बाढीपहिरो गएदेखि दिनरात तातोपानी नाकामा केन्द्रित छन्।

तातोपानी नाका सुचारु भएसँगै केरुङमा रहेका ४० कन्टेनर फलफूल र रेडिमेड सामान खासा ल्याउन लागिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव इश्वर गुभाजुले जानकारी दिए।

केरुङपटि पनि एकदुई दिनपछि सडक सञ्चालन हुने उनले बताए।

महिना दिनभन्दा बढी सडकमै रोकिएका कन्टेनरका फलफूल आधाजसो कुहिएकोले नोक्सान ब्यहोर्नुपरेको उनको भनाइ छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *