बाढीले बाह्रबिसेको बेलिब्रिज बगायो

असार ३१ गते राति आएको बाढीले बाह्रबिसेस्थित खागदल खोलाको बेलिब्रिज बगायो। त्यसयता तातोपानी नाका पुग्ने कोदारी सडक सम्पर्कविच्छेद भएको छ ।

डाक्लाङ, दशकिलो र लिपिङमा पनि सडकभर पहिरो थुप्रिएको छ । कोदारी राजमार्ग असार अन्तिमबाट ठप्प छ ।

खासाबाट काठमाडौंका लागि छुटेका भन्सारका मालवाहक गाडी करिब ६० वटा बीचसडकमा अलपत्र परेका छन्।

लगभग डेढ सय कन्टेनर भन्सारपरिसरमा पार्किङ गरिएका छन् । सडक बन्द भएकाले जाँचपास र भन्सार सिलको काम पनि करिब रोकिएको छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत भन्छन्, ‘रेडिमेड सामान बोकेका कन्टेनरलाई त खासै फरक पर्दैन, तर स्याउ र लसुन बोकेका कन्टेनर व्यवसायी र साहुलाई ठूलै नोक्सानी हुन्छ ।’ केही दिनमा सडक सञ्चालन नहुने हो भने ५०–६० गाडी स्याउ र लसुन खेर जान सक्छ।

‘स्याउ–लसुन कुहियो भने व्यवसायी नोक्सानीमा पर्छन्,’ उनले भने।

भर्खरै सकिएको आर्थिक वर्षमा तातोपानी भन्सारले १३ अर्ब ३१ करोड राजस्व उठाएको छ। ‘सरदर दैनिक चार करोड राजस्व गुमिरहेको छ,’ भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले भने, ‘साउन सुरु भएपछि राजस्व असुली प्रभावित भयो ।’

खागदल खोलामा बाढी आइरहेकाले  दिनहुँ धार परिवर्तन गरेर बगिरहेको छ। बाह्रबिसे नगरपालिकाले तीन एक्स्काभेटर प्रयोग गरेर खोलामा ह्युमपाइप राख्न खोजे पनि सफल भएको छैन।

नेपाली, सेना, सशस्त्र र जनपथ प्रहरी दिनहुँ खटिरहेका छन्। तर, ठाडोखोलाको बाढीले बगाएर ल्याएको ढुंगामाटाे थुप्रिएकाले काम गर्न कठिन भएको छ।

सडक डिभिजन चरिकोटले सडक सञ्चालन गर्न ध्यान दिएको छैन । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतले भने, ‘सडक डिभिजनका डोजरले भनेको समयमा काम गर्दैनन् र दिउँसाेभर चल्ने गरी इन्धनको व्यवस्थापन पनि हुँदैन ।’

संघीय सांसद माधव सापकोटाले भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग भेटेर कोदारी राजमार्गको अवस्था जानकारी गराएका छन्।

सांसद सापकोटासँगै मन्त्रालय पुगेका बाह्रबिसे नगरका माओवादी नेता भीमप्रसाद पराजुलीले भने मन्त्रीज्यूले नयाँ बेलिब्रिजका लागि सम्बन्धित निकायलाई प्रस्ट निर्देशन दिएको बताए।

‘खोलाले बगाएर टुटफुट र बांगिएको पुरानो बेलिब्रिज काम नलाग्ने भएकाले सांसद सापकोटाले मन्त्रीज्यूसँग नयाँ माग गर्नुभएको हो,’ उनले भने ।

बेलिब्रिज तयार भए पनि खागदल खोलाको दुवै किनारमा नयाँ जिप निर्माण गर्नुपर्ने भएकाले १५–२० दिन समय लाग्ने अवस्था छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय लार्चाभन्दा माथिको सडक पनि जोखिमपूर्ण रहेको छ ।

विभिन्न हाइड्रोपावर र ट्रान्सपोर्ट कम्पनीको सहयोगमा सडकमा थुप्रिएको ढुंगामाटो पन्छाउने काम भइरहेको छ ।

अविरल वर्षा र सडकको दुरवस्थाले तातोपानी भन्सारको राजस्व असुलीको लक्ष्य प्रभावित हुने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *