नागढुंगा सुरुङमार्गको निर्माणका लागि तेस्रोपटक म्याद थप गरिँदै

सिस्नेखोला–नागढुंगा सुरुङमार्ग बनाइरहेको जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले ठेक्काको म्याद एक वर्ष थप्न प्रस्ताव गरेको छ ।

कम्पनीसँग गरेको ठेक्का सम्झौताको म्याद आगामी २५ अप्रिलमा सकिँदै छ । तर, त्यो अवधिमा काम नसकिने भएपछि कम्पनीले म्याद थप गर्न सडक विभागलाई पत्राचार गरेको हो ।

सरकारले यसअघि पनि कम्पनीलाई दुईपटक गरेर एक वर्ष म्याद थप गरिसकेको छ । दुईपटक थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि पुनः म्याद थप गर्ने प्रक्रिया अघि बढाएको विभागका एक उच्च अधिकारीले बताए ।

‘अहिलेकै सम्झौता अवधिमा काम सकिन्न । राम्रोसँग काम गर्न सकेमा सुरुङमार्ग ब्रेक थ्रु भएको एक वर्षमा काम सम्पन्न गर्न सकिन्छ ।

सोहीअनुसार एक वर्षकै हाराहारीमा म्याद थप्ने प्रस्ताव आएको छ,’ उनले भने, ‘त्यसमा प्रारम्भिक प्रक्रियासमेत अघि बढिसकेको छ । यसमा छिट्टै औपचारिक निर्णय हुन्छ ।’

सुरुङमार्ग निर्माणका लािग सडक विभाग र कम्पनीबीच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएको थियो ।

त्यसको ४२ महिना अर्थात् अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने पहिलो सम्झौता थियो ।

तर, बीचमा कोरोना महामारीलगायतका कारण पनि आयोजनाको निर्माण कार्य प्रभावित भयो ।

त्यसपछि दुईपटक म्याद थप गरेर अप्रिल ०२४ सम्म पुर्‍याइएको थियो । तर, गत वर्ष अस्थायी रूपमा क्रसर बन्द हुने, भौगोलिक जटिलता आउनेलगायत कारण परियोजनाको निर्माण कार्य प्रभावित भएको थियो ।

सोही अवस्थालाई दृष्टिगत गर्दै म्याद थप गर्न आवश्यक रहेको स्रोतको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि उक्त ठेक्काको म्याद थप गर्नुपर्ने बताए ।

‘यसबारे मलाई औपचारिक जानकारी आइसकेको छैन । यद्यपि, यस ठेक्काको म्याद थप भने गर्नुपर्छ नै,’ उनले भने, ‘साथै, यस परियोजनाको निर्माण कार्यबाट हामी पनि सन्तुष्ट छौँ ।

पहिलो सम्झौता म्यादमै काम नभए पनि अन्य ठूला परियोजनाको तुलनामा यसको निर्माण द्रुत गतिमा अघि बढेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

यद्यपि, स्थानीयको अवरोधका कारण परियोजनाको निर्माण कार्य ६ फागुनदेखि ठप्प छ । फलस्वरूप २३ फागुनमा गर्ने भनिएको मुख्य टनेलको ब्रेक थ्रुसमेत अन्योलमा छ ।

खानेपानीको व्यवस्था गर्नुपर्ने, टनेलमाथिको जग्गाको मुआब्जा पाउनुपर्ने, प्रभावित क्षेत्र घोषणा गर्नेुपर्नेलगायत मागसहित स्थानीयले ६ फागुनदेखि आयोजनामा निर्माण कार्य गर्न दिएका छैनन् ।

दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब १४ मिटरखण्ड मात्रै खन्न बाँकी छ, जुन पाँच दिनमा खन्न सकिन्छ ।

स्थानीयसँग ठोस सहमति नभएका कारण अझै काम सुरु हुन सकेको छैन । साथै, कहिलेदेखि काम सुरु हुन्छ भन्नेमा पनि अन्योल छ ।

यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल भने २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको छ ।

तर, स्थानीयको अवरोधका कारण मुख्य टनेलको ब्रेक थ्रुसँगै परियोजना निर्माणको सबै काम अन्योलमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *