काठमाडौं- कोरियाली कार उत्पादक कम्पनी हुन्डाईको क्रेटा मोडल भारत तथा नेपाली बजारमा सफल मिडसाइज एसयूभी मानिन्छ।
भारतीय बजारमा क्रेटा सार्वजनिक भएयता १० लाख वटा बिक्री संख्या पूरा गरेको छ।
योसँगै हुन्डाई मोटर इन्डिया लिमिटेडले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
भारतीय बजारमा हुन्डाईले क्रेटा २०१५ मा सार्वजनिक गरेको थियो। मिडसाइज एसयूभी सेगमेन्टमा भारतीय बजारमा क्रेटाले नयाँ मानक कायम गर्न सफल भएको छ।
भारतमा क्रेटाको चर्चा तथा स्वीकार्यता यति धेरै छ कि हरेक ५ मिनेटमा एउटा क्रेटा बिक्री हुने गरेको छ।
विगत ८ वर्षदेखि भारतमा मिडसाइज एसयूभी सेगमेन्टमा क्रेटा सँधै प्रथम स्थानमा रहँदै आएको छ।
हुन्डाईले हालै भारतीय बजारमा क्रेटाको नयाँ भर्सन सार्वजनिक गरेको हो। यसको माग पनि उच्च रहेको ६० हजारभन्दा बढी बुकिङले पुष्टि गर्छ।
भारतमा १० लाख बिक्री पूरा भएको हुन्डाई क्रेटा भारतबाट २ लाख ८० हजार वटा निर्यात समेत भएको छ।
केही वर्षअिघसम्म क्रेटाको राम्रो निर्यात बजार नेपाल पनि थियो। तर पछिल्लो पटकको आयात प्रतिबन्ध र अर्थतन्त्रमा देखिएको मन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री बढ्न सकेको छैन।
भारतीय उपभोक्ताको मन मस्तिस्कमा हुन्डाई क्रेटा बसिसकेकाले नै १० लाख बिक्री संख्या हासिल गर्न सम्भव भएको हुन्डाई मोटर इन्डियाका सीओओ तरुन गर्गले बताएका छन्।
क्रेटा प्रति भारतीय उपभोक्ता आकर्षित भएको नयाँ क्रेटाको ६० हजारभन्दा बढी बुकिङले पनि देखाएको गर्गको भनाइ छ।
नयाँ क्रेटामा हुन्डाईले निक्कै परिमार्जन गरेको छ। नयाँ क्रेटामा १.५ लिटर एमपीआई पेट्रोल र १.५ लिटर यूटू सीआरडीआई डिजेल इन्जिनमा उपलब्ध गराएको छ।
त्यस्तै पेट्रोल अप्सनमा टर्बो इन्जिन समेत बनाएको छ।
विगतमा नेपाली बजारमा समेत क्रेटाको बिक्री उल्लेख्य थियो। लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टिरकन्टिनेन्टलले हुन्डाईका कार नेपाली बजारमा बिक्री गर्दै आएको छ।
तर पछिल्लो पटक विभिन्न कारणले पेट्रोलियम कारको बिक्री उल्लेख्य रुपमा घटेको छ। जसको प्रत्यक्ष असर धेरै बिक्री हुने मध्येको हुन्डाई क्रेटा पनि प्रत्यक्ष रुपमा प्रभावित भएको छ।
नेपालमा हाल पेट्रोलियम कारको बिक्री संख्यालाई विद्युतीय कारले उछिनेको छ।
सरकारले विद्युतीय कारको आयातमा कर सहुलियत दिएको र बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीमा सहजता गरेकाले बिक्री बढेको हो।
हुन्डाईले भारतमा क्रेटा ईभीको समेत परीक्षण गरिरहेको छ।
Views: 668