खानेपानीमन्त्री महिन्द्र राय यादवले काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत रहेको बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १६औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले उपत्यकावासीलाई बाह्रै महिना पानी उपलब्ध गराउन विभिन्न स्थानीय तहमा रहेको पानीको स्रोत खोजीको प्रयास भइरहेको बताए ।
‘काठमाडौं उपत्यकामा दैनिक ५१ करोड लिटर पानीको माग छ । हाल १७ करोड लिटर मात्र उपलब्ध गराउन सकिरहेका छौँ,’ मन्त्री यादवले भने ।
काठमाडौंवासीलाई स्वच्छ पानी उपलब्ध गराउन स्थानीय सरकारले स्थानीयस्तरमा पानीको स्रोत पहिचान तथा खोजी गरी संरक्षण गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
खानेपानीमन्त्री यादवले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक रहेको बताए ।
उनले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष बितिसक्दा पनि पर्याप्त पानी उपत्यकामा ल्याउन नसकिएको बताए ।
भौतिक संरचना, प्राविधिक जनशक्ति, आवश्यक उपकरणलगायत अभावका कारण मेलम्ची खानेपानी आयोजनाले निरन्तरता पाउन नसकेको मन्त्री यादवको भनाइ थियो ।