अब सिसिक्यामेराले पछ्याउनेछ शंकास्पद सवारीसाधन

काठमाडौंका सडक क्रमशः ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् एआईको निगरानीमा आउँदैछन् ।

एआईमा आधारित सिसिक्यामेराको जालोबाट फरार व्यक्ति र शंकास्पद सवारीसाधन फुत्किन गाह्रो हुनेछ ।

अत्याधुनिक सिसिक्यामेरा जडान गरी प्रविधिमा आधारित पुलिसिङतर्फ प्रहरीले जोड दिइएका छ  र उपत्यकाका सडकमा सुरक्षाकर्मीको उपस्थितिलाई प्रविधिले विस्थापित गर्दै लगेको छ ।

सहरका मुख्य सडकमा हालै एआईमा आधारित सिसिक्यामेराको प्रयोग बढेको छ ।

त्यस्ता क्यामेराले फरार व्यक्तिलाई पहिचान गर्नेदेखि शंकास्पद सवारीसाधनलाई ‘ट्र्याक’ गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपककुमार थापाले बताए ।

यसले सडकमा प्रहरीको उपस्थितिलाई कम गर्नुका साथै अपराध नियन्त्रण र अनुसन्धानमा थप सहज हुने उनी बताउँछन् ।

हालै जडान गरिएका सिसिक्यामेरामा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एनपिआर) र फेस रिकग्निसन (एफसी) प्रणाली छ ।

यसले क्यामेराकै माध्यमबाट खोजीमा रहेका व्यक्ति तथा सवारीसाधनलाई ‘ट्र्याक’ गर्न सकिने एआइजी थापा बताउँछन् ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंको नौ स्थानमा एनपिआर क्यामेरा जडान गरिएका छन् ।

सानेपा, कोटेश्वरको अकासेपुल र ललितपुरको महालक्ष्मीस्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा एनपिआर क्यामेरा जडान भएको हो ।

काठमाडौंको तिनकुने, महाराजगन्ज, नयाँ बसपार्कमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालयको सहकार्यमा जडान भएका हुन् ।

त्यस्तै, नैकाप चोक, थानकोट खरीबोट र हाइभिजन कोलोनीमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा जडान गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यस्ता क्यामेरा जडान गरिएका सडकमा गुडेका सबै सवारीसाधनका नम्बर प्लेटको फोटो क्याप्चर गरी सर्भरमा पठाउँछ ।

प्रहरी खोजीमा रहेका कुनै सवारीसाधन त्यहाँ देखिएकामा नियन्त्रणमा लिन सहज हुने एसएसपी मैनाली बताउँछन् ।

‘चोरी भएका तथा हराएका सवारीसाधन पहिले नै सर्भरमा अपलोड गरिएको हुन्छ,’ उनी भन्छन्, ‘अब त्यस्ता सवारीसाधन क्यामेरा क्षेत्रमा देखिएकामा तत्कालै प्रहरी कन्ट्रोल रुममा नोटिफिकेसन आउँछ । जसकारण अब अपराध गरेर भाग्न सजिलो छैन ।’

यस्ता क्यामेरामा सवारीसाधनको गति नाप्ने प्रणालीसमेत जडान गरिएको छ ।

त्यस्तै, सिट बेल्ट नबाँध्ने र सवारी चलाउँदा ध्रूमपान गरेकोमा समेत क्यामेराकै मद्दतले ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।

यस्ता सिसिक्यामेराकै आधारमा धेरै चालकलाई पछि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्ट बताउँछन् ।

सवारी दुर्घटना गराएर भाग्ने सवारीसाधन पत्ता लगाई कानुनी दायरामा ल्याउन पनि यी क्यामेरा प्रभावकारी हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *