नेपालमा अनलाइनबाटै ऋण लेनदेन गराउने प्लेटफर्मको इजाजतपत्र खुलाउन सकिने एक अध्ययनले देखाएको छ ।
दुईभन्दा बढी ऋणीले कुनै एक व्यक्तिलाई ऋण दिन सकिने गरी पियर–टु–पियर (पिटुपी) प्लेटफर्म सञ्चालन गर्न सकिने राष्ट्र बैंकको अध्ययनले देखाएको हो ।
केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनअनुसार प्रारम्भिक चरणमा साना कर्जा लेनदेन हुने गरी वेबमा आधारित यो प्लेटफर्मको लाइसेन्स दिन सकिने देखिएको हो ।
व्यक्तिगत रूपमा ऋण दिन र लिन चाहने दुवै व्यक्तिले यो माध्यममा एकाउन्ट खोल्न सक्नेछन् ।
यसमा पिटुपी प्लेटफर्मले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ । यो प्लेटफर्मले ऋण दिन र लिन इच्छुक दुवै पक्षको सूचना लिएर राख्छ ।
जसका आधारमा ऋणको लेनदेनमा सहजीकरण गराउन ‘म्याचमेकर’को भूमिका निर्वाह गर्छ ।
हाल नेपालमा बैंक तथा वित्तीय संस्था एवं सहकारीहरूले ऋण प्रवाह गर्दै आइरहेका छन् ।
यो परम्परागत खालको बैंकिङ प्रणालीमा वित्तीय संस्थाहरूले निक्षेप संकलन गरेर त्यसलाई कर्जाका रूपमा लगानी गर्दै आइरहेका छन् ।
जसमा ऋण डुब्ने अवस्थामा वित्तीय संस्था जोखिममा पर्नुका साथै निक्षेपकर्ताको निक्षेप पनि प्रभावित हुन सक्छ ।
तर, पिटुपी वित्तीय कारोबारको वैकल्पिक माध्यम हो, जसमा ऋण डुब्ने अवस्थामा यस्ता प्लेटफर्मले सञ्चालकलाई कुनै असर पार्दैन ।
यसमा ऋण दिने आफैँले जोखिम मोल्नुपर्ने हुन्छ । खासगरी लगानीका अन्य क्षेत्रमा कम प्रतिफल दिने अवस्था र बैंकमा निक्षेपको ब्याजदरसमेत न्यून रहेको अवस्थामा पैसा हुनेले यस्तो माध्यम प्रयोग गरी ऋणमा लगाउन सक्नेछन् ।