राष्ट्रिय गौरवको कोशी कोरिडोरले दक्षिणमा भारतको सिमाना जोगवनीदेखि वसन्तपुर, खाँदबारी हुँदै नेपालको उत्तरी सिमाना किमाथांका जोड्नेछ।
आयोजनाले तेह्रथुमको वसन्तपुरदेखि मुलुकको उत्तरी सिमाना किमाथांकासम्मको १ सय ६२ किमि सडक निर्माण एवम् स्तरोन्नति गर्ने लक्ष्य लिएको छ।
जसमध्ये हालसम्म ७४ किलोमिटर ग्राबेल, ८८ किलोमिटर कच्ची र ८० किलोमिटरको स्तरोन्नतिका लागि ठेक्का लागेको छ।
आर्थिक वर्ष २०६५/६६ बाट सुरु भई आर्थिक वर्ष २०८०/८१ सम्पन्न गर्ने लक्ष्य लिएको छ।
यस आयोजनाको कुल लागत ११ अर्ब ९३ करोड रहेकोमा ५ अर्ब ७ करोड रुपैयाँ खर्च भएको छ।
कुल लागतको करिब ७८ प्रतिशत रकम खर्च भएको छ। ७ अर्ब १५ करोड बराबरको ठेक्का लागेकोमा २ अर्ब ९३ करोड रुपैयाँको भने ठेक्का लाग्न बाँकी छ। यस कोरिडोरको भौतिक प्रगति ४५.७० प्रतिशत मात्र छ।
खाँदबारीदेखि नुम सडकखण्डको ३९ किलोमिटरमा विद्युतीय पोलको स्थानान्तरण तथा जग्गा मुआब्जासम्बन्धी विवादका कारण निर्माण अवरोध भइरहेको छ।
यस्तै निर्माण कार्य अवधि कम हुनाले ठेक्काहरू समयमा नै सम्पन्न हुन नसकेको, जथाभावी शाखा सडक खोल्ने÷खन्ने समस्या र निर्माण कार्यतालिका अनुसार प्रगति हुन नसकेको, वरुण खोलादेखि किमाथांक खण्ड आयोजना समयावधिभित्र निर्माण सम्पन्न गर्ने लगायतका चुनौती रहेको बताइएको छ।
यो कोरिडोरलाई अघि बढाउनका लागि स्तरोन्नति गर्न बाँकी खण्डका लागि स्रोत सुनिश्चितता तथा बहुवर्षीय ठेक्का सहमति उपलब्ध गराउने, पर्याप्त बजेट र जनशक्ति उपलब्ध गराउने लगायतका कार्य गरी काम अघि बढाउन सहजीकरण गर्न माग गरिएको छ।
पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने दु्रत सडक मार्गको रूपमा ‘कोशी कोरिडोर’को काम अघि बढाइएको हो।